आज बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको सिफारिसमा सरकारले सवारीसाधन सञ्चालनमा विशेष कडा पारेको छ ।
आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चालनमा रोक लगाउन सिफारिस गरे बमोजिम आज बिहीबार १२ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य नसकिउन्जेल सम्मका लागि देशभर सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन् ।
मतदान प्रक्रियालाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यले मतदान अवधिभर सर्वसाधारणले प्रयोग गर्ने बस, माइक्रो, ट्याक्सी र व्यक्तिगत सवारीसाधनहरू सञ्चालन गर्न पाइने छैन ।
निर्वाचनको दिन मतदान कार्य सम्पन्न नहुन्जेलसम्मका लागि मुख्यतया तीन प्रकारका सवारीसाधनलाई मात्र सञ्चालनको अनुमति दिइएको छ ।
सूचना अधिकारी घिमिरेका अनुसार अति आवश्यक सेवाका सवारीसाधन अन्तर्गत एम्बुलेन्स, दमकल, शववाहन, रगत सञ्चारका सवारीसाधनका साथै खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीसाधनहरूलाई निर्बाध सञ्चालन गर्न दिइनेछ ।
यसका साथै कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन र निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारीसाधनहरूले मात्र सडकमा गुड्ने अनुमति पाउने आयोगले स्पष्ट पारेको छ ।
हवाई यात्रा गर्ने यात्रुहरूको हकमा भने आयोगले विशेष सहजताको व्यवस्था मिलाएको छ । निर्वाचनको दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडानका टिकट भएका यात्रुहरूले विमानस्थलसम्म जान वा विमानस्थलबाट घर फर्किनका लागि आफ्नो निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न पाउनेछन् ।
यसका अतिरिक्त आयोगले निर्वाचनलाई स्वच्छ र विवादरहित बनाउन मतदानको सात दिन अगाडिदेखि नै अन्तिम निर्वाचन परिणाम नआएसम्मका लागि देशभर मादक पदार्थको बिक्री–वितरण र सेवनमा समेत पूर्ण प्रतिबन्ध लगाउन निर्देशन दिइसकेको छ ।
बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानमा मा देशभरका १० हजार ९६७ मतदानस्थलका २३ हजार ११२ मतदान केन्द्रबाट करिब १ करोड ८९ लाख ३ हजार ६८९ मतदाताले मतदान गर्दै छन् ।
मतदानका लागि मतदाताले आफ्नो परिचयपत्र वा त्यसको विकल्पमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र र जग्गाधनी प्रमाण पुर्जामध्ये कुनै एक आधिकारिक र सक्कल कागजात बोकेर मतदान केन्द्र पुग्नुपर्नेछ ।
सरकारले देशभरको शान्ति सुरक्षा मजबुत बनाइएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन सबै नागरिकहरूमा आह्वान गरेको छ ।
