निर्वाचन अवधिभर भन्सार सेवा स्थगित

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै सरकारले देशभरका भन्सार नाका अस्थायी रूपमा बन्द गरेको छ। निर्वाचनको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन बुधबार बिहान ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म भन्सार कार्यालयहरू बन्द रहने जनाइएको छ।

वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको सूचनाअनुसार फागुन २० गते बिहान ६ बजेदेखि फागुन २१ गते साँझ ६ बजेसम्म आपतकालीन सेवा बाहेकका सवारी साधनलाई नेपाल प्रवेशमा रोक लगाइएको छ। यस अवधिमा सीमावर्ती नाकाबाट हुने सामान्य आयात–निर्यात गतिविधि पनि स्थगित रहनेछ।

यद्यपि नेपालबाट भारततर्फ जाने खाली मालवाहक सवारी साधनलाई भने भारत प्रवेशका लागि आवश्यक सहजीकरण गरिने सूचनामा उल्लेख गरिएको छ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै देशभरका सबै भन्सार नाका अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो। उनले बिहीबार साँझ ६ बजेपछि मात्रै भन्सार सेवा पुनः सञ्चालनमा आउने जानकारी दिएका छन्।

तर अत्यावश्यक वस्तु बोकेका सवारी साधनलाई भने आवतजावतमा रोक लगाइने छैन। इन्धन, औषधि तथा अस्पतालजन्य सामग्री, हरियो तरकारी र फलफूल बोकेका सवारी साधनलाई सीमाबाट आवतजावत गर्न अनुमति दिइने जनाइएको छ।

निर्वाचन अवधिभर सीमावर्ती क्षेत्रहरूमा सुरक्षा निगरानीसमेत बढाइएको छ। सरकारले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सीमावर्ती गतिविधिमा विशेष निगरानी राखेको जनाएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार