काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का अवसरमा परेको सार्वजनिक बिदाका दिन पनि कामना सेवा विकास बैंक लिमिटेडले ग्राहकका लागि चयनित शाखा सञ्चालन गर्ने भएको छ। बैंकले फागुन २० र २२ गते देशभरका विभिन्न शाखाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा उपलब्ध गराउने जनाएको छ।
बैंकका अनुसार निर्वाचन हुने मुख्य दिन फागुन २१ गते सबै शाखा बन्द रहनेछ ताकि कर्मचारी र ग्राहकले मतदान प्रक्रियामा सहज रूपमा भाग लिन सकून्। तर बिदाका दिन फागुन २० र २२ गते बैंकका शाखा खुला राखेर ग्राहकको अत्यावश्यक नगद कारोबार, जम्मा–निकासी तथा अन्य आधारभूत बैंकिङ सेवा सुनिश्चित गरिनेछ।
प्रदेशगत रूपमा पहिलो दिन, फागुन २० मा काठमाडौँ क्षेत्रमा लोकेन्थली शाखा, बुटवल क्षेत्रमा भैरहवा शाखा र पोखरा क्षेत्रमा न्युरोड शाखा सञ्चालनमा रहनेछन्। दोस्रो दिन, फागुन २२ मा काठमाडौँको चाबहिल शाखा, बुटवलको कोटिहवा शाखा र पोखराको सिर्जनाचोक शाखा खुला रहने व्यवस्था गरिएको छ। यसरी शाखा घुमाएर सञ्चालन गर्दा विभिन्न क्षेत्रका ग्राहकलाई सेवा पुर्याउन सजिलो हुने बैंकले जनाएको छ।
बैंकले भने अनुसार यस प्रकारको व्यवस्थाले स्थानीय बजारमा नगद प्रवाह कायम राख्ने, साना तथा मध्यम व्यवसायीका दैनिक कारोबारमा सहयोग पुर्याउने र लामो बिदाका कारण हुने कारोबारको चाप घटाउने अपेक्षा गरिएको छ।
साथै बैंकले डिजिटल बैंकिङ सेवा २४ घण्टा सञ्चालनमा रहने जानकारी दिएको छ। मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोग गरी ग्राहकहरूले आफ्नो खातासम्बन्धी कारोबार सहजै गर्न सक्नेछन्।
बैंकले सुरक्षा व्यवस्था कडा गरी लोकन्थली, चाबहिल, भैरहवा, कोटिहवा, न्युरोड र सिर्जनाचोक शाखामा सुरक्षित वातावरणमा सेवा उपलब्ध गराउने जनाएको छ। ग्राहकले आवश्यक परे बैंकको ग्राहक सेवा केन्द्रमार्फत सम्पर्क गर्न सक्नेछन्।
निर्वाचनको राष्ट्रिय महत्त्वपूर्ण अवसरमा पनि बैंकको सेवा निरन्तरता र ग्राहककेन्द्रित नीति झल्किन्छ। यसले नेपालको वित्तीय प्रणालीलाई मजबुत राख्दै, देशको आर्थिक गतिविधिलाई अवरुद्ध हुन नदिने विश्वास बैंकले व्यक्त गरेको छ।
