काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि मतदान गरेका छन्। ढकालले काठमाडौं, विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
मतदानपछि ढकालले आफ्नो फेसबुकमा बताएका छन्, “मत भनेको केवल अधिकार मात्र होइन, देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी पनि हो। मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाओस्, जसले स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुकलाई अघि बढाओस्।”
ढकालले नयाँ सरकारमा निजी क्षेत्रको महत्वलाई उच्च प्राथमिकता दिने विश्वास व्यक्त गर्दै भने, “मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्र नै विकास र समृद्धिको प्रमुख संवाहक हो। निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै मुलुकमा अपेक्षित विकास र समृद्धि हासिल हुन सक्छ। निर्वाचनपछि बन्ने नयाँ सरकार र नेतृत्वले निजी क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउनेछ।”
उनको मताधिकार प्रयोगले निजी क्षेत्रको नेतृत्वमा नागरिक जिम्मेवारीबोध र लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिताको उदाहरण प्रस्तुत गरेको छ।
