भारत टि ट्वान्टी विश्वकपको‌ फाइनलमा

भारतले इंग्ल्याण्डलाई रोमाञ्चक सेमिफाइनलमा ७ रनले हराउँदै आइसिसी टि ट्वान्टी विश्वकपको फाइनलमा पुगेको छ।

मुम्बईमा बिहीबार भएको उच्च स्कोरको खेलमा भारतले उत्कृष्ट ब्याटिङ र अन्तिम समयमा गरेको बलिङका कारण जित निकाल्यो। फाइनलमा अब भारतले न्युजिल्यान्डसँग खेल्नेछ।

इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २ सय ५३ रनको विशाल योगफल बनायो।

भारतका लागि सञ्जु सामसन ले ४२ बलमा ८ चौका र ७ छक्कासहित ८९ रन बनाए। उनले लगातार दोस्रो अर्धशतक पनि बनाए। त्यस्तै शिवम दुबेले ४ छक्का र १ चौकासहित ४३ रन जोडे ।

भारतले सुरुवातमै अभिषेक शर्मा को विकेट गुमाए पनि पावरप्लेमा ६७ रन जोड्दै राम्रो सुरुआत गरेको थियो। सामसनले त्यसपछि आक्रामक ब्याटिङ गर्दै इंग्ल्याण्डका बलरलाई दबाबमा राखे। उनले जोफ्रा आर्चर र साम करन विरुद्ध चौका–छक्का प्रहार गर्दै रनको गति बढाए।

अर्कोतर्फ इशान किशन ९३९ रन० ले पनि राम्रो साथ दिए। दुवैले दर्शकलाई आकर्षक ब्याटिङ देखाए। पछि किशन आउट भए पनि भारतले अन्तिम ४ ओभरमा ६३ रन थप्दै स्कोर २ सय ५० भन्दा माथि पुर्‍यायो।

अन्त्यतिर हार्दिक पाण्ड्या९२७ रन ० ले पनि छक्का प्रहार गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। तिलक वर्माले २१ रन थपे। विल ज्याक्स र आदिल रशिदले समान २ विकेट लिए।

२ सय ५४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डको सुरुवात राम्रो भएन। फिल साल्ट चाँडै आउट भए भने ह्यारी ब्रुक लाई जसप्रित बुमराहले आउट गरे।‌

युवा ब्याटर जेकब बेथेल ले शानदार शतक बनाए। उनले ४८ बलमा ८ चौका र ७ छक्कासहित १ सय ५ रन बनाउँदै इंग्ल्याण्डलाई खेलमा फर्काएका थिए। विल ज्याक्सले २० बलमा ४ चौका र छक्कासहित ३५ रन बनाए।

इंग्ल्याण्ड जित नजिक पुग्दै गर्दा भारतका बलरले अन्तिम समयमा उत्कृष्ट बलिङ गरे। बुमराहले १८औँ ओभरमा मात्र ६ रन दिएर खेल भारततर्फ फर्काए। त्यसपछि अन्तिम ओभरमा शिवम दुबे ले ३० रन जोगाउँदै भारतलाई ७ रनको जित दिलाए।