निर्वाचन आयोगको निर्देशनपछि दोस्रो पटक निर्वाचन रोक्न बाध्य अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुन: निर्वाचनको नयाँ मिति सार्वजनिक गरेको छ।

एन्फाको निर्वाचन समितिले पुरानै प्रक्रियालाई निरन्तरता दिदै चैत १३ गतेका लागि निर्वाचन मिति तय गरेको छ। निर्वाचनको नयाँ संसोधित तालिकासँग निर्वाचन समितिलेले उम्मेदवार र सदस्य संस्थाको प्रतिनिधिको नाम पनि आज सार्वजनिक गरेको छ।
यसअघि दुई पटक माघ २८ र फागुन २७ गतेलाई तोकिएको एन्फा निर्वाचन स्थगित भएको थियो। नयाँ तालिका अनुसार उम्मेदवार तथा मताधिकार प्रतिनिधिविरुद्ध दाबी गर्ने अन्तिम मिति फागुन २८ गते, पुनरावेदनको समितिको निर्णय, फागुन २९ गते, दाबी विरोधको पुनरावेदनपछिको अन्तिम नामावली प्रकाशन फागुन ३० गते हुने उल्लेख गरिएको छ।
सरकारी निकायको निर्देशन पटक पटक अटेर गर्दै आएको एन्फा सुरक्षाकर्मी परिचालनपछि दोस्रो पटक तोकिएको निर्वाचन रोक्न बाध्य भएको थियो ।
निर्वाचन आयोगले आचारसंहिता लागू भएकाले एन्फाको निर्वाचनका सबै प्रक्रिया रोक्न दोस्रो पटक पत्र जारी गरेको थियो।
त्यसलाई पनि अटेर गर्दै एन्फा निर्वाचन समितिले फागुन २७ गतेका लागि तोकिएको निर्वाचनको प्रक्रिया अघि बढाएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनमा एन्फमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशन र उच्च अदालतको पहिलो आदेशलाई अटेर गर्दै माघ २७ नै निर्वाचन गर्न प्रक्रिया अघि बढाएको थियो।
एन्फा उपाध्यक्ष विराट जंग शाहीको रिटमा माघ ४ गते उच्चले अन्तरिम आदेश जारी गरेपछि एन्फाले पहिलो पटक निर्वाचन स्थगित गरेको थियो। त्यसबीचमा निर्वाचन आयोगले पनि निर्वाचन प्रक्रिया रोक्न पत्राचार गरेको थियो।
निर्वाचन सम्बन्धी मुद्दाको किनारा लगाउने क्रम उच्च अदालत पाटनले माघ २७ गते त्यसअघिको अन्तरिम आदेश खारेज गरेसँगै एन्फाको निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो।
निर्वाचन आयोगले फागुन ६ गते दोस्रो पटक पत्र काटेर एन्फा निर्वाचन सबै प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो।
त्यो निर्देशनलाई अटेर गर्दै निर्वाचन प्रक्रियालाई पुनः सुरु गरेको एन्फाले सुरक्षाकर्मी परिचालनपछि निर्वाचन स्थगित गर्न बाध्य भएको थियो।
