विजयश्री स्टिलको व्यापारमा पुनः उत्साह

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार

काठमाडौं । व्यावसायिक घराना विजय समूहद्वारा प्रवर्द्धित विजयश्री स्टिल प्रालिको व्यापारमा पछिल्ला चार वर्षयता उतारचढाव देखिए पनि हाल पुनः सुधारको संकेत देखिएको छ। गत वर्ष सामान्य रूपमा घटेको कम्पनीको व्यापारले सन् २०२६ मा भने पुनः लय समातेको तथ्याङ्कले देखाएको छ।

सन् २०२६ को पहिलो ६ महिनामै कम्पनीले ३ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। यसअघि सन् २०२५ मा कम्पनीको व्यापार ४ प्रतिशतले घटेर ५ अर्ब ४० करोड ४० लाख रुपैयाँमा सीमित भएको थियो। तर चालु वर्षको पहिलो ६ महिनाको व्यापारिक प्रदर्शनले कम्पनीमा पुनः उत्साह देखिएको छ।

यसअघि सन् २०२३ मा कम्पनीले ३ अर्ब ५५ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो भने सन् २०२४ मा कम्पनीको व्यापार उल्लेख्य रूपमा बढेर ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो।

कम्पनीले सन् २०२३ फेब्रुअरीदेखि आफ्नै कारखानाबाट कच्चा पदार्थ ‘बिलेट’ उत्पादन सुरु गरेपछि सञ्चालन नाफामा उल्लेखनीय सुधार देखिएको छ। कच्चा पदार्थको लागत घटेपछि सन् २०२४ मा ४.६३ प्रतिशत रहेको सञ्चालन नाफा (इबिट्डा मार्जिन) सन् २०२५ मा बढेर ९.४३ प्रतिशत पुगेको छ। सन् २०२६ को पहिलो ६ महिनामा भने यो दर ८.०६ प्रतिशत कायम भएको छ।

खुद नाफातर्फ पनि कम्पनीले क्रमिक सुधार देखाएको छ। सन् २०२४ मा १० करोड ९० लाख रुपैयाँ रहेको खुद नाफा सन् २०२५ मा बढेर १२ करोड ८० लाख रुपैयाँ पुगेको थियो। सन् २०२६ को पहिलो ६ महिनामै कम्पनीले ११ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरिसकेको छ।

व्यापारमा उतारचढाव देखिए पनि कम्पनीले आफ्नो ऋणको भार भने क्रमशः घटाउँदै लगेको छ। सन् २०२४ मा ३.५४ गुणा रहेको ऋण–पूँजी अनुपात (गियरिङ रेसियो) सन् २०२५ मा ३.१९ गुणा र सन् २०२६ को पहिलो ६ महिनामा घटेर ३.०१ गुणामा पुगेको छ। यस्तै, ब्याज भुक्तानी गर्ने क्षमता (इन्ट्रेस्ट कभरेज रेसियो) सन् २०२५ मा २.२७ गुणा रहेको छ।

कम्पनीले ५ अर्ब ४ करोड २३ लाख रुपैयाँ बराबरको बैंक कर्जाका लागि रेटिङ नवीकरण गराएको छ। जसअनुसार दीर्घकालीन कर्जाका लागि ‘आईआरएन डबल बी’ र अल्पकालीन कर्जाका लागि ‘आईआरएन ए फोर’ रेटिङ प्राप्त गरेको छ।

कपिलवस्तुको शिवराजमा रहेको यस उद्योगको वार्षिक उत्पादन क्षमता १ लाख ३२ हजार मेट्रिक टन बिलेट र १ लाख २४ हजार मेट्रिक टन डन्डी रहेको छ। भारतसँगको सीमा क्षेत्र र पूर्व–पश्चिम राजमार्ग नजिक भएकाले कच्चा पदार्थ आयात तथा बजार विस्तारमा कम्पनीलाई सहजता मिलेको छ।

विकास केडियाको नेतृत्वमा सञ्चालन भइरहेको यस उद्योगमा शक्ति इन्भेस्टमेन्ट प्रालिको २० प्रतिशत तथा केडियाको १७ प्रतिशत शेयर स्वामित्व रहेको छ।

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार