काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने म्याद थप गरेको छ। यसअघि फागुन ११ गतेदेखि बिक्री खुला गरिएको शेयरमा अब आगामी चैत १० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले आफ्नो कुल जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १७ करोड १० लाख रुपैयाँको शेयर निष्काशन गर्ने अनुमति पाएको छ। सोहीअनुसार पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १०० रुपैयाँ अंकित दरमा ४ लाख ७० हजार कित्ता शेयर निष्काशन गरिएको हो।
निष्काशित शेयरमध्ये खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ र ८ का उच्च प्रभावित बासिन्दाका लागि ५० प्रतिशत अर्थात् २ लाख ३५ हजार कित्ता शेयर छुट्याइएको छ।
यस्तै मध्यम प्रभावित क्षेत्रका रूपमा रहेका लिखुपिके गाउँपालिका वडा नम्बर २ र उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ का बासिन्दाका लागि ३० प्रतिशत अर्थात् १ लाख ४१ हजार कित्ता शेयर बाँडफाँट गरिनेछ।
बाँकी २० प्रतिशत अर्थात् ९४ हजार कित्ता शेयर न्यून प्रभावित क्षेत्रका रूपमा रहेका उमाकुण्ड गाउँपालिका–२ र गोकुलगंगा गाउँपालिका वडा नम्बर १ का बासिन्दाहरूका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले तोकिएका संकलन केन्द्रमार्फत चैत १० गतेसम्म आवेदन पेश गर्न सक्ने कम्पनीले जनाएको छ।
