काठमाडौं । नेपाल राष्ट्र बैंक का दुई डेपुटी गभर्नरले पाँच वर्षे कार्यकाल पूरा गरी अवकाश पाएका छन्। डेपुटी गभर्नर नीलम ढुंगाना र बमबहादुर मिश्र फागुन २४ गतेदेखि अनिवार्य अवकाशमा गएका हुन्।
ढुंगाना र मिश्र २०७७ फागुन २५ गते डेपुटी गभर्नरमा नियुक्त भएका थिए। उनीहरूको अवकाशसँगै राष्ट्र बैंकमा दुईवटा डेपुटी गभर्नर पद आजैदेखि रिक्त भएको छ।
रिक्त पदमा नयाँ नियुक्तिका लागि राष्ट्र बैंकका बहालवाला १८ जना कार्यकारी निर्देशकहरू प्रतिस्पर्धामा रहेका छन्। राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर पदमा नियुक्त हुनका लागि कार्यकारी निर्देशक हुनुपर्ने अनिवार्य व्यवस्था रहेको छ।
नियुक्ति प्रक्रियाअनुसार गभर्नरले हाल कार्यरत १८ जना कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सरकारलाई सिफारिस गर्नेछन्। गभर्नरले सिफारिस गरेका ती चार जनामध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने कानुनी प्रावधान छ।
ढुंगाना र मिश्रको बिदाइसँगै रिक्त भएको पदमा नियुक्ति पाउन राष्ट्र बैंकभित्रैबाट दौडधुप सुरु भइसकेको छ। गभर्नरले वरिष्ठता र कार्यक्षमताका आधारमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने तयारी गरिरहेको बताइएको छ।
