अहमदावाद। आइसिसी टी–२० विश्वकप २०२६ को उपाधि भारतले जितेको छ। आइतबार नरेन्द्र मोदी स्टेडियममा न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा विजेता बन्न सफल भयो।
पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर २५५ रन बनाएको थियो। जवाफी ब्याटिङमा न्युजिल्यान्ड १५९ रनमै अलआउट भयो। भारतका ब्याटरहरूले लगातार चौका–छक्का प्रहार गर्दै न्युजिल्यान्डका बलरलाई दबाबमा राखेका थिए। १६औं ओभरमा जिम्मी निशमले इशान किशन, सन्जु सामसन र सूर्यकुमार यादवलाई आउट गर्दै तीन विकेट लिए। तर अन्तिम ओभरमा शिवम दूबेले ३ चौका र २ छक्का प्रहार गर्दै २४ रन जोड्दा भारतले फराकिलो जीत सुनिश्चित गर्यो।
यो अवसरमा निशमको नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्ससँग पनि चर्चा रह्यो। निशमले गत मंसिरमा पोखरा एभेन्जर्सबाट खेलेका थिए र विश्वकप फाइनलमा उत्कृष्ट प्रदर्शन गरेपछि टोलीले उनलाई बधाइ दिएको थियो।
तर निशमले सामाजिक सञ्जालमा आफूले अझै पारिश्रमिक पाउन नसकेको संकेत गर्दै लेखे, “कुल, पे योर प्लेयर्स (तिम्रा खेलाडीलाई पारिश्रमिक देउ)।”
यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले पोखरा व्यवस्थापनसँग विषयमा चासो देखाएको छ। पोखरा एभेन्जर्सका मुख्य लगानीकर्तामध्येका एक सुबोध त्रिपाठीले सेतोपाटीसँग भने, “हामीलाई खेलाडीको पारिश्रमिक दिन कुनै समस्या छैन। तर नेपालको प्रशासनिक प्रक्रियाको ढिलाइले समस्या आएको हो। सुरुमा राष्ट्र बैंकको अनुमति नचाहिने भनियो, तर पछि ग्लोबल आइएम बैंकले अनुमति चाहियो भनेको थियो। त्यसपछि राष्ट्रिय खेलकुद परिषदमा गयो, तर निर्वाचनका कारण कार्यालय बन्द भयो। अहिले हामी पारिश्रमिक दिने प्रक्रियामा छौं।”
