काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा उम्मेदवारी दिएका चार यातायात व्यवसायीमध्ये दुईले मात्र जीत हासिल गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर कैलाली–२ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका थिए, तर ७ हजार २०० मत पाएर चौथो स्थानमा पराजित भएका छन्। उनका प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल १९ हजारभन्दा बढी मत ल्याएर विजयी भएका छन्।
अर्का पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएर २८ हजार ८ सय मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ध्रुवकुमार शाही १८ हजार ८९० मत पाएका थिए।
त्यस्तै, रास्वपाबाट उम्मेदवार बनेका कर्णाली यातायात प्रमुख रमेश सापकोटाले सुर्खेत–२ बाट ३० हजार ८ सय मत ल्याएर जीत हासिल गरे। उनका प्रतिद्वन्दी काँग्रेस उम्मेदवार नारायणकुमार खड्काले १६ हजार ३ सय मत पाए।
स्याङ्जा–२ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका यातायात व्यवसायी भागवत मल्ल पराजित भए। यहाँ रास्वपाका झविलाल डुम्रेका २५ हजारभन्दा बढी मत आएर विजयी भएका छन्, जबकि मल्ल २० हजार ८३० मतमा रोकिए।
