जेनजी प्रदर्शन आयोगले तत्कालीन आईजीपी खापुङलाई मुद्दा चलाउन सिफारिस

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार

काठमाडौँ । भदौ २३–२४ मा भएको जेनजी प्रदर्शन र उच्छृङ्खल गतिविधिबारे छानबिन गर्न गठित आयोगले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई पनि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार बुझाएको प्रतिवेदनमा खापुङले फील्डमा खटिएका अधिकृतलाई लेथल हतियार प्रयोग गरी बढी बल प्रयोग गर्न आदेश दिएको देखिएको छ। सो दिन काठमाडौँको नयाँ बानेश्वरमा किशोरहरूको मृत्यु हुने गरी गोली चलाइएको थियो।

अधिकृतका अनुसार, भदौ २३ मा करिब १ बजेतिर संसद् भवन घेरिएको देख्दा खापुङले वाकीटकीमार्फत गोली चलाउन आदेश दिएका थिए। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रजिअ छविलाल रिजाललाई पनि फौजदारी कानुनअनुसार मुद्दा चलाउन सिफारिस गरेको छ।

गृह मन्त्रालयका तथ्यांकअनुसार भदौ २३–२४ मा देशभर गोली लागेर ३९ प्रदर्शनकारीको मृत्यु भएको थियो। कुल ७६ जनाको मृत्यु भएकोमा ३४ जनाको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो।

साथै, आयोगले जिल्ला सुरक्षा समिति काठमाडौँका पदाधिकारीहरूलाई विभागीय कारबाही गर्न पनि सिफारिस गरेको छ। आयोगका सदस्यका अनुसार, ‘जिल्ला सुरक्षा समितिका अध्यक्षलाई फौजदारी मुद्दा र अरूलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ।’

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार