एनआईसी एशिया बैंकद्वारा प्यान र इमेल अद्यावधिक गर्न आग्रह

  • Clock icon
    २०८२ फाल्गुन २६, मंगलवार

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) तथा इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ।

बैंकले ग्राहकहरूको खाताबाट काटिएको कर विवरणलाई आयकर ऐन २०५८ अनुसार आन्तरिक राजश्व विभागद्वारा सञ्चालन गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक गर्न अनुरोध गरेको जनाएको छ।

बैंकका अनुसार ग्राहकहरूले panupdate.nicasiabank.com पोर्टलमार्फत वा मोबाइल बैंकिङ्ग एपमा रहेको “प्यान अपडेट” विकल्प प्रयोग गरेर आफ्नाे प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन्। साथै, आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयमा पुगेर पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।

बैंकले निक्षेपकर्तालाई ब्याज भुक्तानी गर्दा काटिएको करलाई इ–टीडीएस रेकर्डमा प्रविष्ट गर्न प्यान अनिवार्य हुने जनाएको छ। प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टी विवरण सोही प्यानमा प्रविष्ट गरिने र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची–१० मा उक्त विवरण मिलान गर्नेछ।

यस प्रक्रियाबाट ग्राहकलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकले विश्वास व्यक्त गरेको छ। यसले प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने अपेक्षा गरिएको छ।

बैंकले प्यान अद्यावधिक नगरिएका कारण इ–टीडीएसमा ब्याजकर दाखिला नभएमा वा त्यसपछि कर समायोजन गर्नुपर्ने अवस्था आएमा त्यसको जिम्मेवारी बैंकले नलिने स्पष्ट पारेको छ।

यसैबीच बैंकले ग्राहकहरूलाई आफ्नो खातामा इमेल ठेगाना समेत अद्यावधिक गर्न अनुरोध गरेको छ। ग्राहकहरूले बैंकको भिडियो केवाईसी सेवा https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ्ग एपको “माइ प्रोफाइल”मा गई “चेञ्ज इमेल” विकल्पमार्फत आफ्नो इमेल अद्यावधिक गर्न सक्नेछन्।

  • Clock icon
    २०८२ फाल्गुन २६, मंगलवार