टोकियो । जापानमा लामो समयदेखि सामाजिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय समाजसेवी र व्यवसायी ददिवल खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०८२–२०८४ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
खड्काले आफ्नो उम्मेदवारी मार्फत विदेशमा रहेका नेपालीहरूको अधिकार संरक्षण, नेपालमा लगानी प्रवद्र्धन र विश्वभर फैलिएको नेपाली समुदायबीच सहकार्य मजबुत बनाउने लक्ष्य राखेको बताएका छन्। जापानस्थित नेपाली समुदायमा सक्रिय अभियन्ता खड्का विगत डेढ दशकभन्दा बढी समयदेखि एनआरएनएसँग जोडिँदै आएका छन्।
उनी विभिन्न सांस्कृतिक, सामाजिक तथा समुदायिक कार्यक्रममा अग्रसर भूमिका निर्वाह गर्दै आएका छन्। खड्काका अनुसार, एनआरएनए केवल विदेशमा बस्ने नेपालीहरूको संस्था मात्र नभई नेपाल र विश्वभर फैलिएको नेपाली समुदायलाई जोड्ने महत्वपूर्ण माध्यम हो।
खड्का जापानमा नेपाली समुदायका लागि आयोजना हुने नेपाल फेस्टिवल, सामाजिक अभियान र विपद् राहत सहयोग कार्यक्रममा सक्रिय सहभागी रहँदै आएका छन्। साथै, नेपाली युवालाई सामाजिक अभियानमा जोड्ने, नेपाली भाषा र संस्कृति प्रवद्र्धन गर्ने र समुदायमा सहकार्य बढाउनेमा पनि उनी सक्रिय छन्।
व्यवसायिक रूपमा पनि खड्का जापानमा सफल व्यवसायीका रूपमा स्थापित छन्। नेपालीहरूको लागि रोजगारी र अवसर सिर्जना गर्दै जापानस्थित नेपाली व्यवसायी संघ र अन्य संघसंस्थासँग आवद्ध रहेका छन्।
एनआरएनएसँगको उनको लामो अनुभवमा सन २०१७–२०१९ मा एनआरएनए जापान सल्लाहकार, २०१९–२०२१ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य र २०२१–२०२३ मा एनआरएनए एसिया–प्यासिफिक उपसंयोजकको जिम्मेवारी समावेश छन्।
उम्मेदवार खड्काले विदेशमा रहेका नेपालीको कानुनी तथा प्रशासनिक समस्या समाधान, नेपालमा लगानी प्रवर्द्धन, दोस्रो पुस्ताका नेपाली युवालाई अभियानमा जोड्ने, र संस्थाभित्र पारदर्शिता र एकता कायम गर्ने एजेन्डा अघि सारेका छन्।
एनआरएनएको १२औँ महाधिवेशन आगामी मार्च १४–१६ सम्म काठमाडौंमा आयोजना हुँदैछ, जहाँ नयाँ नेतृत्व चयन हुने कार्यक्रम तय गरिएको छ।
