काठमाडाैं । निर्माणाधीन नयाँ संसद भवनमा प्रतिनिधि सभाको स्थायी बैठक कक्ष तत्काल तयार नहुने भएपछि फागुन २१ गते निर्वाचित सांसदहरूको सपथ ग्रहण र प्रारम्भिक बैठकहरू अस्थायी हलमा सञ्चालन गर्न तयारी सुरु गरिएको छ।
संसद भवनको माथिल्लो तल्लामा रहेको बहुउद्देशीय हलमा अस्थायी रूपमा प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न माइक प्रणालीदेखि सभामुखको आसनसम्म तयारी अघि बढाइएको छ। प्रधानमन्त्रीको विश्वासको मत र अन्य सुरूवाती बैठकहरू पनि यही हलमा सञ्चालन हुनेछन्।
सहरी विकास मन्त्रालयको भवन निर्माण महाशाखा का रोशन श्रेष्ठका अनुसार, “प्रतिनिधि सभाको बैठक कक्ष तयार हुन समय लाग्ने भएकाले मल्टिप्रपोज हलमा नै बैठक सञ्चालन गर्न सकिने गरी काम अघि बढाइएको छ।”
तर नयाँ हलमा सिटको अभाव रहेकाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकका लागि चुनौती देखिएको छ। प्रतिनिधि सभामा २७५ र राष्ट्रिय सभामा ५९ सांसद रहेका छन्।
हलमा फल्स सिलिङ प्राविधिक रूपमा जटिल भएकाले हालसम्म सिट राख्न सम्भव भएको छैन। श्रेष्ठले बताए, “फलामका डण्डी राखिएका कारण तल कार्पेट बिछ्याउन र सिट राख्न सकिएका छैनन्। सुरक्षा सुनिश्चित गर्दै काम भइरहेको छ।”
सहरी विकास मन्त्रालयले समयतालिका बनाएर काम अघि बढाएको भए पनि असार मसान्तसम्म नयाँ भवनको पूर्ण सञ्चालन सम्भावना छैन। श्रेष्ठले भने, “निर्माण प्राविधिक चुनौतीयुक्त भए पनि छिट्टै सक्ने गरी काम भइरहेको छ।”
