महाशक्ति सिमेन्टले एक वर्षमा १ अर्ब २५ करोड व्यापार गर्दै आईपीओ तयारी

  • Clock icon
    २०८२ फाल्गुन २६, मंगलवार

काठमाडौँ । महाशक्ति सिमेन्ट लिमिटेडले सन् २०२५ मा १ अर्ब २५ करोड ५० लाख रुपैयाँको व्यापार गर्दै उल्लेखनीय वृद्धि गरेको छ। यो व्यापार अघिल्लो वर्षको तुलनामा करिब ३३ प्रतिशतले बढी हो।

कम्पनीले सन् २०२४ मा ९४ करोड १० लाख रुपैयाँ र २०२३ मा ९६ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो। चालु आर्थिक वर्षको तीन महिनामा मात्रै ४६ करोड ३० लाख रुपैयाँको व्यापार भएको तथ्याङ्कले देखाएको छ।

ऋण व्यवस्थापनमा पनि कम्पनी सन्तुलित रहेको देखिन्छ। सन् २०२५ मा कम्पनीको कुल ऋण अनुपात ०.७१ गुणा रहेको छ, जुन सन् २०२४ को तुलनामा कम हो।

कम्पनीले प्रतिक्षित १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता आईपीओ बिक्रीका लागि सेबोनमा आवेदन दिएको छ।

महाशक्ति सिमेन्ट लिमिटेडको स्थापना सन् २०२३ जुलाई १६ मा भएको हो, जसअघिको महाशक्ति सिमेन्ट प्रा. लि., गरिमा सिमेन्ट प्रा. लि., एम. जयपी सिमेन्ट प्रा. लि. लाई एकीकृत गरी नयाँ संरचना तयार पारिएको हो। यसले उत्पादन क्षमता, व्यवस्थापन अनुभव र बजार पहुँचलाई एकै छतामुनि ल्याउँदै प्रतिस्पर्धी उद्योगका रूपमा स्थापित गरेको छ।

कम्पनीको उत्पादन उद्योग कपिलवस्तु, शिवराज–६ मा रहेको छ। यसले मुख्य रूपमा साधारण पोर्टल्यान्ड सिमेन्ट र पोर्टल्यान्ड पोजोलाना सिमेन्ट उत्पादन गर्दै आएको छ। निर्माण क्षेत्रमा बढ्दो मागका कारण यी दुवै प्रकारका सिमेन्टको बिक्री निरन्तर बढिरहेको छ।

कम्पनीका प्रमुख शेयरधनीहरूमा श्यामप्रसाद पौडेल (करिब ९%), हरि बहादुर भण्डारी र पारस अधिकारी (करिब ८–८%) रहेका छन्।

बैंकिङ सुविधाका लागि कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडबाट दीर्घकालीन बैंक सुविधा ६३ करोड ६८ लाख ५० हजार रुपैयाँ बराबरमा ‘आईआरएन डबल बी माइनस’ र अल्पकालीन बैंक सुविधा २ अर्ब १६ करोड ५२ लाख ८० हजार रुपैयाँमा ‘आईआरएन ए फोर’ रेटिङ पाएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २६, मंगलवार