चीन–उत्तर कोरिया रेल सेवा पुनः सञ्चालन

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार

काठमाडौँ । चीन र उत्तर कोरियाबीचको यात्रुवाहक रेल सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। कोरोना महामारीका कारण झण्डै छ वर्षदेखि बन्द रहेको यो रेल सेवा फेरि सुरु हुन लागेको चिनियाँ रेल अधिकारीहरूले जानकारी दिएका छन्।

चिनियाँ रेल सेवाका अनुसार बेइजिङ र उत्तर कोरियाको राजधानी प्योङयाङबीच हप्तामा चार पटक रेल सञ्चालन हुनेछ। साथै चीनको सीमावर्ती सहर डानडोङ र प्योङयाङबीच दैनिक रेल सेवा उपलब्ध गराइने बताइएको छ।

यो रेल सेवालाई दुई देशबीचको मित्रता र सहकार्यलाई थप मजबुत बनाउने महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ। चीन महामारीपछि पूर्ण रूपमा खुला भइसके पनि उत्तर कोरियाले भने निकै सावधानीपूर्वक र सुस्त गतिमा मात्र आफ्नो सीमा खुला गर्दै आएको छ।

उत्तर कोरियाले सन् २०२४ देखि सीमित सङ्ख्यामा मात्रै विदेशी पर्यटकलाई प्रवेशको अनुमति दिन थालेको छ। यससँगै दुई देशबीचको आवागमन विस्तार गर्ने प्रयासस्वरूप रेल सेवा पुनः सञ्चालन गरिएको बताइएको छ।

भिसा र यात्रामा कडाइ

बेइजिङ–प्योङयाङ रेल सेवाका केही डिब्बामा अन्तर्राष्ट्रिय यात्रुहरूलाई अनुमति दिइने व्यवस्था गरिएको छ। तर पर्यटन क्षेत्रका जानकारहरूका अनुसार व्यवसायी वा सामान्य पर्यटकका लागि भने टिकट अझै सहज रूपमा उपलब्ध भइसकेको छैन।

हालका लागि वैध भिसा भएका व्यक्तिहरूले मात्र टिकट किन्न पाउने व्यवस्था गरिएको छ। भिसा भएका यात्रुहरूमा मुख्य रूपमा उत्तर कोरियामा काम गर्ने वा अध्ययन गर्ने चिनियाँ नागरिक तथा विदेशमा कार्यरत वा परिवार भेट्न जाने उत्तर कोरियाली नागरिकहरू रहेका छन्।

बिहीबार प्रस्थान गर्ने पहिलो रेलका सबै टिकटहरू पहिले नै बुकिङ भइसकेका छन्। ती टिकटहरू मुख्य रूपमा उद्यमी, सरकारी अधिकारी र पत्रकारहरूले खरिद गरेको बताइएको छ।

दुई देशबीच सम्बन्ध विस्तारको संकेत

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले दुई देशबीच नियमित यात्रुवाहक रेल सेवा सञ्चालन हुनु जनस्तरको आदानप्रदानका लागि अत्यन्त महत्वपूर्ण भएको बताएका छन्।

यसै साता उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र पठाउँदै समाजवादी लक्ष्य प्राप्तिका लागि दुई देशबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए। उक्त पत्र राष्ट्रपति सीले किमलाई पार्टी नेताका रूपमा पुनः चयन भएकोमा दिएको बधाईको जवाफस्वरूप पठाइएको हो।

महामारी सुरु हुनु अघि सन् २०२० को सुरुतिर उत्तर कोरिया भ्रमण गर्ने विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक रहेका थिए।

सन् २०२४ पछि उत्तर कोरियाले पर्यटक प्रवेशलाई बिस्तारै खुला गर्न थालेको छ। पर्यटन प्रवर्द्धनका लागि समुद्री किनार क्षेत्रमा रिसोर्ट लगायत नयाँ परियोजनाहरू अघि सारिएको छ। यद्यपि यस्ता परियोजनाहरू केही चुनौतीका कारण बीचमै रोकिने सम्भावना पनि देखिँदै आएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार