काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालमा भित्रिने विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि माघ मसान्तसम्म कुल १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले मात्र वृद्धि भएको थियो। चालु वर्षको माघ महिनामा मात्रै करिब १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको माघ महिनामा भने १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ मात्र रेमिट्यान्स आएको थियो।
अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। समीक्षा अवधिमा डलरमा रेमिट्यान्स ३३ प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि ५.५ प्रतिशत मात्रै थियो।
यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि उल्लेख्य रूपमा बढेको छ। राष्ट्र बैंकका अनुसार सात महिनामा यस्तो आय १३ खर्ब ८४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ९ खर्ब ८६ अर्ब ३४ करोड रुपैयाँ थियो।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि उल्लेख्य रहेको छ। समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या २ लाख ४५ हजार १५३ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख २७ हजार ४२४ रहेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको थियो।
