सात महिनामा महँगी नियन्त्रणमा

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा देशको वार्षिक विन्दुगत उपभोक्ता महँगी ३.२५ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा यस्तो तथ्यांक उल्लेख गरिएको हो।

राष्ट्र बैंकका अनुसार सात महिना अघि १०० रुपैयाँमा पाइने सामानको मूल्य अहिले करिब १०३ रुपैयाँ १५ पैसा पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो महँगी ४.१६ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको महँगी २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको महँगी ३.६६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको महँगी ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको महँगी ३.७४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ को सात महिनाको औसत महँगी १.९२ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा औसत महँगी ४.८६ प्रतिशत रहेको थियो।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशतले बढेको छ। त्यस्तै घ्यू तथा तेलको ७.६१ प्रतिशत र फलफूलको ७.४१ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ।

तर दाल तथा गेडागुडी उप–समूहको उपभोक्ता मूल्य सूचकाङ्क ५.१९ प्रतिशतले घटेको छ। खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ प्रतिशत र मरमसलाको २.६१ प्रतिशतले पनि गिरावट आएको राष्ट्र बैंकले जनाएको छ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको उपभोक्ता मूल्य सूचकाङ्क २१.९८ प्रतिशतले बढेको छ। त्यस्तै शिक्षाको ७.४६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२८ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

सञ्चार उप–समूहको उपभोक्ता मूल्य सूचकाङ्क भने ०.०८ प्रतिशतले घटेको छ। ग्रामीण क्षेत्रमा वार्षिक विन्दुगत महँगी २.५२ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रमा ३.५१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

प्रदेशगत रूपमा कोशी प्रदेशमा महँगी ३.५३ प्रतिशत, मधेश प्रदेशमा ५.१४ प्रतिशत, बागमती प्रदेशमा ३.१० प्रतिशत, गण्डकी प्रदेशमा २.४२ प्रतिशत, लुम्बिनी प्रदेशमा ३.२९ प्रतिशत, कर्णाली प्रदेशमा १.६२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १.६४ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ।

भौगोलिक क्षेत्र अनुसार काठमाडौं उपत्यकामा महँगी ३.४८ प्रतिशत, तराई क्षेत्रमा ३.६६ प्रतिशत, पहाडी क्षेत्रमा २.६८ प्रतिशत र हिमाली क्षेत्रमा २.५८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी २०८२ माघ महिनामा वार्षिक विन्दुगत थोक महँगी ६.२१ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो महँगी ३.४७ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा उपभोग्य वस्तुको थोक महँगी ०.७२ प्रतिशत रहेको छ भने मध्यवर्ती वस्तुको ९.८३ प्रतिशत र पुँजीगत वस्तुको ३.२१ प्रतिशत रहेको छ। निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क २.०४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल र भारतबीचको तुलना गर्दा भारतमा महँगी केही कम देखिएको छ। २०८२ माघ महिनामा नेपालमा वार्षिक विन्दुगत उपभोक्ता महँगी ३.२५ प्रतिशत रहेको छ भने सन् २०२६ जनवरी महिनामा भारतमा यस्तो महँगी २.७५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार