आक्रमणपछि चालक दलको सफल उद्धार

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) बाट भारततर्फ जाँदै गरेको थाइल्याण्डको झण्डावाहक मालबाहक जहाज ‘मयुरी नारी’ माथि हर्मुज जलमार्गमा आक्रमण भएको छ। बुधबार भएको उक्त घटनाको जानकारी रोयल थाई नेभीले सार्वजनिक गरेको हो।

थाई कम्पनी ‘प्रिसियस सिपिङ’को स्वामित्वमा रहेको यो जहाज यूएईको खालिफा पोर्टबाट भारतको काण्डला पोर्टतर्फ प्रस्थान गरेको केही समयमै आक्रमणमा परेको बताइएको छ। रोयल थाई नेभीका अनुसार उक्त आक्रमणको जिम्मेवारी इरानले लिएको जनाएको छ।

विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्गमध्ये एक मानिने ‘स्ट्रेट अफ होर्मुज’ क्षेत्रमा इरानले पछिल्ला दिनमा लगातार आक्रमण गर्दै आएको छ। इरानी रिभोल्युसनरी गार्ड्सले भने जहाजले आफ्नो चेतावनीलाई बेवास्ता गरेपछि कारबाही गरिएको दाबी गरेको छ।

आक्रमणका कारण जहाजको इन्जिन कोठामा आगलागी भएको र जहाजमा ठूलो क्षति पुगेको बताइएको छ। जहाजमा रहेका २३ जना चालक दलमध्ये २० जनालाई ओमानको नौसेनाले सफलतापूर्वक उद्धार गरेको छ। उद्धार गरिएका नाविकहरूलाई ओमानको खसाबमा लगेर सुरक्षित राखिएको जानकारी दिइएको छ।

यद्यपि, जहाजका बाँकी तीन जना चालक दलका सदस्य अझै बेपत्ता रहेका छन्। उनीहरू जहाजको इन्जिन कोठाभित्र फसेको हुन सक्ने आशंका गरिएको छ र खोजी कार्य जारी रहेको बताइएको छ।

यस घटनाले मध्यपूर्व क्षेत्रमा जारी तनावलाई थप चर्काएको विश्लेषण गरिएको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि इरानले हर्मुज जलमार्ग हुँदै हुने ढुवानीमा अवरोध पुर्‍याउँदै आएको बताइएको छ।

विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील मानिने यो जलमार्गमा भएको घटनाले भारतको ऊर्जा आपूर्ति तथा समुद्री व्यापार सुरक्षाबारे चिन्ता बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार