गरिमा सुवर्ण योजना बिक्री खुला

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आज बिहीबारदेखि आफ्नो दोस्रो म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’ निष्काशन तथा बिक्री खुला गरेको छ। यो एक खुलामुखी योजना रहेको कम्पनीले जनाएको छ।

कुल १ अर्ब रुपैयाँ आकारको यस योजनाअन्तर्गत पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरका ५ करोड इकाई बिक्रीमा ल्याइएको छ। यसमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंक र योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडका लागि सुरक्षित गरिएको छ।

बाँकी रहेको ३ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ। प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य रहेको यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यो योजना खुलामुखी प्रकृतिको भएकाले पहिलो चरणको निष्काशन सकिएपछि बाँकी रहेका इकाईहरू योजना व्यवस्थापकले तोकेका केन्द्रहरूबाट निरन्तर रूपमा खरिद–बिक्रीका लागि उपलब्ध हुनेछन्।

क्यापिटलका अनुसार इच्छुक लगानीकर्ताले छिटोमा चैत २ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म पर्याप्त आवेदन नपरेको अवस्थामा आवेदन दिने म्याद चैत १२ गतेसम्म थप हुन सक्ने जानकारी दिइएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार