काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशभर ३० वटा शाखारहित बैंकिङ सेवा केन्द्र बन्द गर्ने निर्णय गरेको छ। यस निर्णयले कैलाली, बारा, सप्तरी, डाँग, बाँके, संखुवासभा लगायतका जिल्लामा रहेका ग्राहकलाई असर गर्नेछ।
बैंकका अनुसार, यस कदमको उद्देश्य सेवा प्रणालीलाई अधिक प्रभावकारी बनाउँदै डिजिटल र मोबाइल बैंकिङमा ग्राहकलाई सहज पहुँच प्रदान गर्नु हो। बन्द हुने केन्द्रका ग्राहकहरूले नजिकको शाखा वा अन्य सक्रिय शाखारहित प्रतिनिधिको माध्यमबाट आफ्नो बैंकिङ सेवा जारी राख्न सक्नेछन्।
बन्द हुने प्रमुख केन्द्रहरूमा कैलालीको गौरीगंगा, बाराको जीतपुर सिमरा, सप्तरीको सप्तकोशी, संखुवासभाको चैनपुर, डाँगको तुल्सीपुर, बाँकेको कोहलपुर रहेका छन्। अब यी प्रतिनिधिहरूले बैंकको तर्फबाट लेनदेन गर्न सक्ने छैनन्।
बैंकले ग्राहकहरूलाई डिजिटल बैंकिङ अपनाउन प्रोत्साहित गर्दै मोबाइल र इन्टरनेट बैंकिङमार्फत खातामा रकम स्थानान्तरण, बिल भुक्तानी र खाताको अनुगमन जस्ता सेवाहरू उपलब्ध गराउने जानकारी दिएको छ।
बैंकले भनेको छ, “यो परिवर्तनले लामो अवधिमा अधिक सुरक्षित, दिगो र सहज बैंकिङ अनुभव सुनिश्चित गर्नेछ।”
