रास्वपाको स्पष्ट बहुमतले नेपालमा साखमा सकारात्मक संकेत

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार

काठमाडौं । विश्वप्रसिद्ध अमेरिकी क्रेडिट रेटिङ एजेन्सी फिच रेटिङ्सले नेपालको पछिल्लो राजनीतिक विकासक्रमले देशको क्रेडिट रेटिङमा सकारात्मक प्रभाव पार्न सक्ने विश्लेषण गरेको छ। हङकङबाट जारी प्रतिवेदन अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको स्पष्ट संसदीय बहुमतले अल्पकालीन राजनीतिक अनिश्चितता कम गरेको र नीतिगत सुधारका लागि नयाँ अवसर सिर्जना गरेको उल्लेख छ।

फिचका अनुसार, विगतका वर्षमा नेपालले भोगेको बारम्बारको सरकार परिवर्तन र राजनीतिक अस्थिरताको जोखिम रास्वपाको एकल बहुमतसँगै निकै घटेको छ। यसले लामो समयसम्म चल्ने असजिलो गठबन्धनको राजनीतिलाई अन्त्य गर्ने र लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

विशेषगरी सुशासन र आर्थिक सुधारका क्षेत्रमा ठोस काम भएमा नेपालको अन्तर्राष्ट्रिय साख अझ मजबुत हुने फिचले ठम्याइ गरेको छ। यद्यपी, रास्वपाले आगामी पाँच वर्षमा औसत ७ प्रतिशत आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आम्दानी ३ हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्यलाई फिचले ‘महत्त्वाकांक्षी’ भनेको छ।

फिचले नयाँ सरकारको नीतिगत निर्णय र कार्यान्वयनले नै वृद्धिदरको वास्तविक दिशा तय गर्ने विश्वास व्यक्त गरेको छ। प्रतिवेदनमा उल्लेख छ कि रास्वपाले उत्पादन क्षमता वृद्धि, औपचारिक रोजगारी सिर्जना, वैदेशिक पलायन घटाउने र डिजिटल तथा नवीन उद्योगमा लगानी बढाउने नीति लिएको देखिन्छ।

फिचले सुधारका एजेन्डा कार्यान्वयनमा सरकारी प्रभावकारिता र नियामक निकायको कमजोरी चुनौतीपूर्ण हुन सक्ने चेतावनी दिएको छ। वैदेशिक लगानी भित्र्याउन नयाँ सरकारले व्यावसायिक वातावरण सुधार र भ्रष्टाचार विरोधी अभियान कडाइका साथ लागू गर्नुपर्ने फिचको सुझाव छ।

हाल नेपालको क्रेडिट रेटिङ ‘डबल बी माइनस’ (स्टेबल आउटलुक) यथावत रहेको छ। कम वैदेशिक ऋण र आईएमएफसँगको सफल सहकार्य अर्थतन्त्रमा केही आड भए पनि कमजोर प्रतिव्यक्ति आम्दानी र प्राकृतिक प्रकोपको जोखिम अझै चुनौतीपूर्ण रहेका छन्।

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार