रौतहट । यस वर्ष रौतहट जिल्लाका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रहरूमा आँपका रूखहरू मोजर (मन्जरी) ले ढकमक्क भरिएका छन् । मौसमले साथ दिएको र उचित समयमा मोजर पलाएका कारण विगतका वर्षहरूको तुलनामा यसपालि आँपको उत्पादनमा निकै वृद्धि हुने अनुमान गरिएको छ ।
जिल्लाका निजी बगैँचा मात्र होइन, सरकारी कार्यालय परिसरमा रहेका आँपका रूखहरू समेत यतिबेला मोजरले पहेंलपुर देखिएका छन् । ईलाका प्रहरी कार्यालय गरुडा बजारको परिसरमा रहेका ठूला आँपका रूखहरू मोजरले ढकमक्क भएपछि कार्यालयको वातावरण नै सुगन्धित र मनमोहक बनेको छ ।
यस्तै, पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको मुख्य व्यापारिक केन्द्र चन्द्रपुर–४, ट्राफिक चोक आसपास रहेका रूखहरूमा पनि यो वर्ष निकै राम्रोसँग मोजर लागेको छ । राजमार्ग भएर हिँड्ने यात्रु र स्थानीयहरूका लागि यो दृश्य आकर्षक बनेको छ ।
चन्द्रपुर–४ का स्थानीय बासिन्दा सरोज मिश्रका अनुसार, यस वर्ष आँपका रूखहरूमा लागेको मोजरको अवस्था हेर्दा उत्पादनमा उल्लेख्य सुधार हुने संकेत देखिएको छ । ‘विगतका केही वर्षहरूमा रोग र बेमौसमी वर्षाका कारण आँप सोचेजस्तो फलेन, तर यसपालि अहिलेसम्मको स्थिति निकै उत्साहजनक छ,’ मिश्रले भने ।
रौतहटका प्रायः सबै गाउँठाउँमा अहिले आँपको सुगन्ध फैलिएको छ । स्थानीय किसानहरूका अनुसार यदि अबका दिनमा हावाहुरी, असिनापानी जस्ता प्राकृतिक प्रकोप नभएमा र तापक्रम सन्तुलित रहेमा यो वर्ष जिल्लाले आँप उत्पादनमा नयाँ रेकर्ड बनाउन सक्छ ।
कृषि विज्ञहरूका अनुसार मोजर लागेको यो समयमा कीराको प्रकोप (विशेषगरी हपर कीरा) बाट जोगाउन किसानहरू सचेत हुनुपर्छ । मोजर टिकाइराख्न र साना दानाहरू लाग्ने प्रक्रियालाई सहज बनाउन हल्का सिँचाइ र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा औषधि छर्कन सुझाव दिइएको छ ।
रौतहटको मालदह, कलकतिया, दसहरी र आम्रपाली जस्ता जातका आँप तराई क्षेत्रमा निकै लोकप्रिय छन् । यस वर्षको राम्रो मोजरले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।