एनआरएनएप्रतिको आकर्षण खस्किदो किन होला ?

राजकुमार कुनै समय गैरआवासीय नेपाली संघ (एनआरएनए) को नाम सुन्दा विश्वभर रहेका नेपालीहरूको छाती गर्वले फुल्थ्यो । नेपालीका लागि नेपाली भन्ने नारा बोकेर हिँडेको यो संस्था प्रवासमा रहेका लाखौँ नेपालीहरूको आशाको केन्द्र थियो । सरकारले पनि एनआरएनएलाई निकै महत्त्व दिन्थ्यो ।

तर, हिजो शनिबारदेखि काठमाडौँमा सुरु भएको संघको १२औँ विश्व सम्मेलनसम्म आइपुग्दा यो गौरव र आकर्षणमा ठुलो ह्रास आएको महसुस गरिएको छ । विगतका विश्व सम्मेलनमा राष्ट्रपति वा प्रधानमन्त्री तहकै सहभागिता रहने गरेको सम्मेलनमा यो पटक परराष्ट्रमन्त्रीको मात्रै सहभागिता रह्यो भने एनआरएनएको सहभागिता पनि न्यून संख्यामा मात्रै रह्यो ।

संस्थाभित्रको बढ्दो राजनीतिक हस्तक्षेप र आन्तरिक गुटबन्दीका कारण एनआरएनएको साख दिनप्रतिदिन खस्कँदै गएको जानकारहरूको भनाइ छ ।

विगत केही वर्षदेखि एनआरएनएमा चरम विवाद थियो भने जसका कारण एनआरएनए विभाजित बन्न पुग्यो । यहीबिचमा केहीअघि मात्रै एनआरएनएलाई फेरि पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ विभाजित समूहबिच एकता भए पनि शनिबारदेखि सुरु भएको विश्व सम्मेलनको खासै रौनक नदेखिएको हो ।

२००३ मा स्थापना भएको यो संस्था हाल ९० भन्दा बढी देशमा सञ्जाल फैलिएपनि संस्थाको नेतृत्वका लागि हुने अस्वस्थ प्रतिस्पर्धा, पदीय खिचातानी र सर्वोच्च अदालतसम्म पुगेको कानुनी लडाइँले यसको गरिमालाई कमजोर बनाएको छ । काठमाडौँको एक तारे होटलमा सुरु भएको सम्मेलनमा सहभागी प्रतिनिधिहरूमा विगतको जस्तो उत्साह देखिँदैन, बरु भविष्यको चिन्ता र अन्योल बढी झल्किएको छ ।

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले भावुक अभिव्यक्ति दिए । उनले संस्थाको साख खस्किनुमा नेतृत्वको व्यक्तिगत स्वार्थ मुख्य दोषी रहेको संकेत गरे ।

महतोले भने, ‘हामीले यो संस्था बनाउँदा नेपाल र नेपालीको हितलाई केन्द्रमा राखेका थियौँ, तर आज पद र प्रतिष्ठाको लडाइँले संस्था नै धराशायी हुने अवस्थामा पुगेको छ । ‘उनले एनआरएनए कुनै राजनीतिक दलको भ्रातृ संगठन नभई साझा नेपालीको साझा फूलबारी हुनुपर्नेमा जोड दिँदै अहिलेको विभाजनले प्रवासमा रहेका नेपालीहरूमा निराशा छाएको बताए ।

एनआरएनएप्रतिको आकर्षण घट्नुको एउटा मुख्य कारण यसमा भित्रिएको चरम राजनीति हो । संस्थाको चुनावमा नेपालका राजनीतिक दलहरूको प्रत्यक्ष हस्तक्षेप र समर्थनले गर्दा स्वतन्त्र र विज्ञ व्यक्तिहरू पाखा लाग्दै गएका छन् ।

जसका कारण संस्थाले आफ्नो मौलिकता गुमाउँदै गएको छ । कार्यक्रममा बोल्ने अन्य पूर्व अध्यक्षहरूले पनि संस्थाको आर्थिक पारदर्शिता र कार्यशैलीमाथि प्रश्न उठाउँदै सुधारको बाटो नअपनाए एनआरएनएको सान्दर्भिकता नै समाप्त हुने चेतावनी दिएका छन् ।

विगतमा एनआरएनएले एनआरएन नागरिकताु, सामूहिक लगानी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षाका पक्षमा सशक्त आवाज उठाउँदै आएको थियो । केही उपलब्धिहरू पनि हासिल भए, तर पछिल्लो समय संस्था आफ्नो एजेन्डाभन्दा पनि आन्तरिक झमेलामा बढी अल्झिएको छ ।

जसका कारण आम गैरआवासीय नेपालीहरूले यसलाई केवल धनी र ठालुहरूको क्लबका रूपमा हेर्न थालेका छन् । विशेषगरी खाडी र मलेसियामा पसिना बगाउने श्रमिकहरूका लागि एनआरएनएले ठोस काम गर्न नसकेको गुनासो अझै सम्बोधन हुन सकेको छैन ।

सम्मेलनमा वर्तमान नेतृत्वले भने एकताको सन्देश दिन खोजेको छ । कार्यकारी अध्यक्ष डा। बद्री केसी र अध्यक्ष महेश श्रेष्ठले आफूहरू बिचको मतभेद अन्त्य गर्दै संस्थालाई एक बनाउन सहमत भएको दाबी गरे ।

तर, यो सहमति केवल चुनावी रणनीतिका लागि मात्र हो वा वास्तवमै संस्थाको साख बचाउनका लागि हो भन्नेमा प्रतिनिधिहरू विश्वस्त देखिँदैनन् ।

सम्मेलनको हलभित्र र बाहिर हुने अनौपचारिक छलफलहरूमा एनआरएनमा लागेर के पाइन्छ रु भन्ने प्रश्नहरू उठ्न थालेका छन्, जुन यसअघिका सम्मेलनहरूमा कमै सुनिन्थ्यो ।

सरकारका तर्फबाट सम्मेलनमा सहभागी भएका परराष्ट्रमन्त्री बालानन्द शर्मालगायतले पनि एनआरएनएलाई एक भएर आउन आग्रह गरे । शर्माले एनआरएनएको आन्तरिक विवादले देशको कूटनीतिक प्रतिष्ठामा समेत नकारात्मक असर परेको तर्फ ध्यानाकर्षण गराए।

यस पटकको सम्मेलनमा नेपालको अर्थतन्त्रमा गैरआवासीय नेपालीको योगदानु, ुदोस्रो पुस्ताको सहभागिताु र श्रम र सामाजिक सुरक्षाु जस्ता विषयमा सत्रहरू सञ्चालन गरिएका छन् । तर, यी नीतिगत छलफलहरूभन्दा पनि सबैको ध्यान आगामी नेतृत्व र त्यसले ल्याउने एकतामा अडिएको छ ।

यदि यो सम्मेलनले संस्थालाई साँच्चिकै एकीकृत गर्न सकेन र गुटबन्दी अन्त्य भएन भने प्रवासका नेपालीहरूले एनआरएनएको विकल्प खोज्न सक्ने खतरा बढ्दै गएको अभियन्ताहरू बताउँछन् ।

१२औँ विश्व सम्मेलन केवल एउटा औपचारिक जमघट मात्र हुन नहुने र यसले एनआरएनएको गुमेको विश्वास फर्काउन सक्नुपर्ने पूर्वअध्यक्ष आरके शर्माले बताए । सम्मेलनमा केही पूर्वअध्यक्षहरुको समेत सहभागिता नरहनुले केही खल्लो महसुश भएको उनले बताए ।

विवादसँगै केही उपलब्धि पनि

उसो त एनआरएनएभित्र आन्तरिक कलहका बिच केही उपलब्धि भने हासिल भएका छन् । कार्यकारी अध्यक्ष डा। बद्री केसीले संस्था विभाजनको संघारमा पुग्दा पनि नीतिगत तहमा ठुलो सफलता हात पारेको दाबी गरे ।

उनले २० वर्षदेखि उठाउँदै आएको गैरआवासीय नेपाली नागरिकताको मुद्दा कार्यान्वयनको चरणमा पुग्नुलाई संस्थाको सबैभन्दा ठुलो जितका रूपमा अर्थ्याए । डा। केसीले भने, ‘हामी आफैँभित्र निकै कठिन परिस्थितिमा थियौँ, तर यो बिचमा हामीले २० वर्षदेखि माग गर्दै आएको एनआरएन नागरिकता प्राप्त गरेका छौँ । यसले विश्वभरका नेपालीलाई कानुनी रूपमा मातृभूमिसँग सधैँका लागि जोडेको छ ‘

अर्का कार्यकारी अध्यक्ष महेश कुमार श्रेष्ठले संस्थाले आर्थिक र सामाजिक क्षेत्रमा गरेका ठोस कामहरूको फेहरिस्त प्रस्तुत गरे । उनले एनआरएनएले गफ मात्र नगरेर काम पनि गर्छ भन्ने पुष्टि भएको बताए ।

उनले भने, ‘१० अर्ब रुपैयाँको एनआरएन नेपाल डेभलपमेन्ट फण्डको स्थापना र यसको सञ्चालन प्रक्रिया अगाडि बढ्नु हाम्रो सामूहिक पुँजी परिचालनको ठुलो उपलब्धि हो ।’

त्यसैगरी, श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका करिब २० लाख नेपाली श्रमिकहरूलाई नेपालको सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन एनआरएनएले खेलेको भूमिकालाई ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरे ।

उनले भने, ‘गोरखाको लाप्राक बस्ती निर्माण, कोभिड–१९ को समयमा अक्सिजन कन्सन्ट्रेटर पठाउने कार्य र हालैको जाजरकोट भूकम्पमा गरिएको मानवीय सहयोगले एनआरएनए सधैँ नेपालको दुःखको साथी बनेको पुष्टि गर्छ ।’

संस्थापक महासचिव एवं पूर्व राजदूत भीम उदासले एनआरएनएले पुँजी मात्र नभई ज्ञान र प्रविधि पनि नेपाल भित्र्याउन सफल भएको बताए । उनले ‘ब्रेन गेनु’ अभियानमार्फत विदेशमा रहेका नेपाली विज्ञहरूको सीपलाई नेपालको नीति निर्माणमा जोड्न सफल भएको उल्लेख गरे ।

यसैगरी पूर्वअध्यक्ष विनोद कुँवरले पद र प्रतिष्ठाको लडाइँले संस्थाको छविमा असर पारे पनि संकटका बेला एनआरएनएले देखाएको सक्रियताको प्रशंसा गरे ।

उनले भूकम्प र महामारी जस्ता विपत्तिमा प्रवासमा रहेका नेपालीले पसिना बगाएर पठाएको सहयोगले नै संस्थाको औचित्य पुष्टि गरिरहेको धारणा राखे ।

कुँवरले भने, ‘संस्थाभित्र समस्या होलान्, तर फिल्डमा खटिने एनआरएनहरूको रगत र पसिनाले नेपालको विकास र संकटमा ठुलो सहारा दिएको छ, यसलाई कसैले अवमूल्यन गर्न सक्दैन ।’ अब संस्थालाई पुरानै शाखमा फर्काउने हो भने एकताबद्ध बनेर नेपालको विकास र समृद्धिका लागि हातेमालो गर्नुको विकल्प नभएको पूर्वअध्यक्ष शर्माले बताए । यही धारणा पूर्वअध्यक्ष जीवा लामिछाने, भवन भट्टलगायतको पनि छ ।

नेतृत्वमा सहमतिको प्रयास

एनआरएनएको १२औँ विश्व सम्मेलन नयाँ नेतृत्व चयन गर्दै मंगलबार सक्ने कार्यक्रम छ । यसपटक सहमतिमा नेतृत्व चयनको प्रयास भइरहेको बताइएको छ । त्यसका लागि उद्घाटन सत्रपछि सघन छलफल भइरहेको अध्यक्ष श्रेष्ठले बताए ।

यसअघि नै भएको छलफलपछि अध्यक्षका उम्मेदवार रोविन शेरचनले आफ्नो उम्मेदवारी फिर्ता लिएर उपाध्यक्षमा बस्न राजी भइसकेका छन् । अन्य पदहरूमा पनि सहमति जुटाउनका लागि पहल भइरहेको श्रेष्ठको भनाइ छ ।

निर्वाचनबाट नेतृत्व चयन गर्दा विगतमा झैँ विवाद बढ्न सक्ने भएकाले सहमतिमा जोड दिइएको बताइएको छ ।

हालसम्म अध्यक्षमा हेमराज शर्मा र रविन बज्राचार्यको उम्मेदवारी रहेपनि रविनलाई फिर्ता लिन लगाएर शर्मालाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास भइरहेको हो । यस्तै महासचिवमा रामशरण सिम्खडा र चिरञ्जीवी खड्काको उम्मेदवारी रहेकामा सो पदमा पनि मिलाउनका लागि पहल भइरहेको छ । यस्तै केही पदमा भने सर्वसम्मत भइरहेको निर्वाचन समितिले जनाएको छ ।

 

 

रातोपाटी नेपालबाट साभार