क्वारेन्टाइन ढिलासुस्तीले रोकियो सामान : व्यवसायी मारमा, राजस्वमा पनि असर

काठमाडौं । नेपालमा विभिन्न मुलुकबाट दैनिक उपभोग्यदेखि औद्योगिक सामग्रीसम्मका वस्तुहरू आयात हुँदै आएका छन् । विशेषगरी भारत र चीनबाट नेपालमा ठूलो परिमाणमा सामान भित्रिने गर्छन् । विदेशबाट आउने यस्ता सामानहरू नेपाल प्रवेश गर्नु अघि विभिन्न भन्सार नाका हुँदै आवश्यक जाँचपड्ताल र प्रक्रियाहरू पूरा गरेर मात्र भित्र्याइने गरिन्छ ।

नेपाल सरकारको नियम, भन्सार नीति र कर सम्बन्धी व्यवस्थाअनुसार आयात गर्न स्वीकृति प्राप्त वस्तुहरू मात्रै कानुनी प्रक्रियाअनुसार नेपाल ल्याइन्छ । भन्सारमा सामानको प्रकृति हेरेर आवश्यक कागजी प्रक्रिया, परीक्षण तथा निरीक्षण गरिन्छ । यदि कुनै सामान शंकास्पद देखिएमा वा नियमअनुसार नभएमा त्यसलाई रोक्ने तथा आवश्यक कारबाही गर्ने व्यवस्था रहेको छ ।

पछिल्लो समय नेपालमा चिनियाँ सामानहरूको प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ। चीनबाट आउने सामानहरू प्रवेश गर्ने प्रमुख नाकामध्ये तातोपानी भन्सार महत्वपूर्ण मानिन्छ । यहाँबाट दैनिक रूपमा ठूलो परिमाणमा वस्तुहरू नेपाल भित्रिन्छन् ।

विदेशबाट आयात भएका केही वस्तुहरू, विशेषगरी औषधि, फलफूल तथा अन्य जैविक सामग्रीहरू नेपाल प्रवेश गर्दा अनिवार्य रूपमा क्वारेन्टाइन परीक्षणमा राखिन्छन् । यस्ता वस्तुहरू धेरै दिनसम्म राख्दा बिग्रने सम्भावना हुने भएकाले व्यवसायीहरूले सकेसम्म छिटो परीक्षण सम्पन्न भई बजारमा पठाउने अपेक्षा राख्छन् ।

तर व्यवसायीहरूका अनुसार पछिल्लो समय क्वारेन्टाइनमा कर्मचारीको ढिलासुस्ती, कार्यालयमा नियमित उपस्थिति नहुनु तथा प्रक्रिया लम्बिनुका कारण सामानहरू लामो समयसम्म रोकिँदै आएको गुनासो छ । यसरी सामान रोकिँदा कतिपय वस्तुहरू बिग्रने अवस्थासम्म पुग्ने गरेको व्यवसायीहरूको भनाइ छ ।

एक व्यवसायीका अनुसार यस्तो अवस्थाले व्यापारी मात्र होइन, ती सामान प्रयोग गर्ने सर्वसाधारण र राज्यको राजस्वसमेत प्रभावित हुन्छ । “सामान लामो समय रोकिने हो भने केही वस्तु त बिग्रेर नै जाने अवस्था आउँछ । यसले हामीलाई आर्थिक क्षति पुर्‍याउँछ, बजारमा सामानको अभाव हुन सक्छ र सरकारलाई उठ्ने राजस्व पनि ढिलो हुन्छ,” उनले भने ।

व्यवसायीहरूले सरकारलाई भन्सार तथा क्वारेन्टाइन प्रक्रियालाई अझ प्रभावकारी र छिटोछरितो बनाउन आग्रह गरेका छन् । उनीहरूका अनुसार नियम र प्रक्रिया आवश्यक भए पनि त्यसको कार्यान्वयन सहज र समयमै हुनुपर्छ, जसले व्यापार, उपभोक्ता र सरकार तीनै पक्षलाई फाइदा पुग्छ ।

यता भन्सार प्रशासन भने व्यवसायीहरूको आरोप पूर्ण रूपमा सही नभएको बताउँछ । नीति ३६५ले भन्सारका एक अधिकारीसँग बुझ्दा उनले नियमअनुसार आएका सामानहरू अनावश्यक रूपमा रोक्ने काम नगर्ने बताएका छन् । त्यसैगरी उनले क्वारेनटाईन सँग सम्बन्धीत विषय आफुमातहतमा नरहेको सोकार्य कृषि मन्त्रालय अन्तरगत हुने भएकाले भन्सारलाई आरोप लगाउनु गलत भएको भन्दै नियमसंगत रूपमा आएका सामानहरू नरोकिने बताएका छन् । हामी सकेसम्म छिटो प्रक्रिया पूरा गरेर सामान भन्सारमै थन्किने अवस्था आउन दिँदैनौं,” ती अधिकारीले भने ।

उनका अनुसार यदि कुनै कर्मचारीले बदमासी वा लापरवाही गरेको पाइएमा त्यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने व्यवस्था पनि रहेको छ ।

यद्यपि व्यवसायीहरूले भने प्रक्रिया छिटो र व्यवस्थित बनाउन सके व्यापारिक वातावरण अझ सहज हुने विश्वास व्यक्त गरेका छन् । उनीहरूका अनुसार समयमै सहजीकरण हुन सके आयात व्यापार व्यवस्थित हुने, बजारमा सामानको आपूर्ति सहज हुने र राज्यको राजस्वसमेत बढ्नेछ ।