काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले पहिलो पटक आयोजना गरेको क्याम्पस प्लेसमेन्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमले रोजगारीको खोजीमा रहेका पेसाकर्मी र अग्रणी रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको संस्थाले जनाएको छ।
रोजगारीका लागि आवश्यक योग्यता अभिवृद्धि गर्ने, उद्योग तथा शैक्षिक संस्थाबीच सहकार्य सुदृढ बनाउने, संरचित करिअर अवसर सिर्जना गर्ने तथा उम्मेदवारलाई व्यावसायिक क्षेत्रको व्यावहारिक अनुभव दिलाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा उत्पादन तथा व्यापार, एकाउन्टिङ आउटसोर्सिङ, बीमा, बैंक तथा वित्तीय संस्था, पुँजी बजार र लगानी कम्पनीहरू लगायत विभिन्न उदीयमान क्षेत्रबाट १८ प्रतिष्ठित रोजगारदाताको सहभागिता रहेको थियो।
उक्त प्लेसमेन्ट कार्यक्रममा ९२ जना उम्मेदवारले नाम दर्ता गराएका थिए। सहभागी उम्मेदवारहरूले उच्च उत्साह, तयारी र व्यावसायिक करिअर सुरु गर्ने दृढ प्रतिबद्धता प्रस्तुत गरेका थिए। कार्यक्रमले उम्मेदवारहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ भने रोजगारदातालाई योग्य प्रतिभा छनोट गर्ने महत्वपूर्ण मञ्च बनेको छ।
संस्थाका अनुसार, यस पहलले व्यावसायिक विकास प्रवर्द्धन गर्ने र कर्पोरेट क्षेत्रसँग सुदृढ सहकार्य विस्तार गर्ने प्रतिबद्धताको झल्को दिएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रोजगारदाता र सहभागी उम्मेदवारप्रति आइक्यानले हार्दिक आभार व्यक्त गरेको छ।
आगामी दिनमा यस्ता प्लेसमेन्ट कार्यक्रमलाई निरन्तरता दिँदै आकांक्षी पेसाकर्मीहरूको करिअर विकासलाई थप सशक्त बनाउने लक्ष्य संस्थाले लिएको छ।
