इरानी तेलमा अस्थायी छुट

काठमाडौं। ट्रम्प प्रशासन ले इरानी तेलमाथि लगाइएको प्रतिबन्धमा ३० दिनका लागि अस्थायी छुट दिने निर्णय गरेको छ। अमेरिका र इजरायल ले इरान माथि गरेको आक्रमणपछि विश्व बजारमा इन्धनको मूल्य आकासिएपछि यस्तो निर्णय गरिएको हो।

यो छुट अप्रिल १९ सम्म लागू रहने जनाइएको छ। तर, उत्तर कोरिया, क्युवाक्रिमिया जस्ता क्षेत्रहरूलाई भने यसमा समावेश गरिएको छैन। अमेरिकी ऊर्जा मन्त्री क्रिस राइट का अनुसार यस निर्णयबाट विशेषगरी एसियाली मुलुकहरूलाई बढी फाइदा पुग्नेछ र छिट्टै तेल आपूर्ति हुने अपेक्षा गरिएको छ।

विगतमा इरानी तेलका प्रमुख खरिदकर्ता रहेका चीन, भारत, दक्षिण कोरिया, जापानटर्की का लागि यो निर्णय महत्वपूर्ण मानिएको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट ले “अपरेशन एपिक फ्युरी” जारी रहँदा इरानकै तेल प्रयोग गरेर मूल्य नियन्त्रणमा राख्नु रणनीतिक कदम भएको बताएका छन्। यद्यपि, इरानले यस बिक्रीबाट प्राप्त हुने राजस्वमा प्रत्यक्ष पहुँच पाउन कठिन हुने अमेरिकी दाबी छ।

अमेरिकाले समुद्रमा रहेका इरानी तेलका जहाजहरू खरिद–बिक्री गर्न अनुमति दिँदै विश्व बजारमा तेल आपूर्ति बढाउने प्रयास गरेको जनाएको छ। यस छुटमार्फत करिब १४ करोड ब्यारेल तेल बजारमा आउने अपेक्षा गरिएको छ, जसले ऊर्जा आपूर्तिमा देखिएको दबाब कम गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

इरानसँगको युद्ध सुरु भएपछि कच्चा तेलको मूल्य करिब ५० प्रतिशतले बढेर प्रति ब्यारेल १०० डलर नाघेपछि अमेरिकाले छोटो अवधिमा तेस्रो पटक प्रतिबन्धमा लचकता अपनाएको हो। यो निर्णय आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि उपभोक्ता र व्यवसायीलाई राहत दिने रणनीतिक कदमका रूपमा पनि हेरिएको छ।

गत फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वका कारण इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेपछि विश्वको करिब २० प्रतिशत तेल आपूर्ति प्रभावित भएको छ।