रेडम्याजिक ११ प्रो नेपालमा आउँदै

काठमाडौं। जेडटिई ले आफ्नो टप गेमिङ फ्ल्यागशिप स्मार्टफोन रेडम्याजिक ११ प्रो नेपाली बजारमा ल्याउने तयारी गरेको छ। उच्च प्रदर्शनयुक्त स्मार्टफोनमार्फत प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धतासहित कम्पनीले यो नयाँ मोडेल सार्वजनिक गर्न लागेको हो।

पावर युजर्स तथा गेमिङ उत्साहीहरूलाई लक्षित गर्दै ल्याइने रेडम्याजिक ११ प्रोले मोबाइल गेमिङ अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। यसमा १४४ हर्ज रिफ्रेश रेटसहितको ६.८५ इन्चको एमोलेड डिस्प्ले रहनेछ, जसले अत्यन्तै स्मूथ भिजुअल्स र इमर्सिभ गेमप्ले सुनिश्चित गर्नेछ। साथै, इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र प्रिमियम डिजाइन पनि समावेश गरिने बताइएको छ।

प्रदर्शनका हिसाबले यो स्मार्टफोन नवीनतम क्वालकम स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेटद्वारा सञ्चालित हुनेछ, जसले फ्ल्यागशिप स्तरको गति र उच्च रिस्पोन्सिभनेस प्रदान गर्नेछ। क्यामरातर्फ ५० मेगापिक्सेल + ५० मेगापिक्सेल + २ मेगापिक्सेलको ट्रिपल रियर क्यामरा सेटअप र १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहने अपेक्षा गरिएको छ, जसले गेमिङसँगै कन्टेन्ट क्रिएसनका लागि सन्तुलित अनुभव दिनेछ।

यसमा ७५०० एमएएच क्षमताको ब्याट्री र ८० वाटको अल्ट्रा–फास्ट चार्जिङ सपोर्ट रहनेछ, जसले यसलाई आफ्नो सेग्मेन्टकै छिटो चार्ज हुने स्मार्टफोनमध्ये एक बनाउने कम्पनीको दाबी छ।

करिब एक लाख साठी हजार रुपैयाँ हाराहारीमा मूल्य पर्ने अनुमान गरिएको यो स्मार्टफोन प्रि–बुकिङका लागि उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।