बाँके। नेपालगन्ज भन्सार कार्यालय ले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ। कार्यालयका प्रमुख जनार्दन पौडेल का अनुसार आव २०८२/८३ का लागि निर्धारण गरिएको रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार लक्ष्यमध्ये फागुन मसान्तसम्म रु १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार अर्थात् ५१.९७ प्रतिशत राजस्व संकलन भएको हो।
उनका अनुसार बाँकी चार महिनामा लक्ष्य पूरा गर्न करिब ४८ प्रतिशत राजस्व उठाउनुपर्ने चुनौती रहेको छ। मासिक लक्ष्यअनुसार भने हालसम्म कुनै पनि महिनामा पूर्ण लक्ष्य हासिल हुन सकेको छैन।
कार्यालयका अनुसार साउनदेखि माघसम्म क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशत राजस्व सङ्कलन भएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा ७४.६४ प्रतिशत र आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व संकलन भएको तथ्यांकले देखाउँछ।
नेपाल–भारत सीमास्थित जमुनाहा नाका मा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यात वृद्धि भई राजस्व बढ्ने अपेक्षा गरिए पनि पछिल्ला वर्षहरूमा लक्ष्यअनुसार उपलब्धि हुन नसकेको प्रमुख पौडेलले बताए।
महिनागत विवरणअनुसार साउनमा रु एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य राखिएकोमा ७४.१४ प्रतिशत अर्थात् रु एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार राजस्व उठेको छ। भदौमा रु एक अर्ब ९३ करोड ६४ हजार ५४ लक्ष्यको ६९.७७ प्रतिशत अर्थात् रु एक अर्ब ३५ करोड १० लाख ९ हजार संकलन भएको छ।
असोजमा रु एक अर्ब ९८ करोड ३१ लाख ३० हजार लक्ष्यको ८७.८३ प्रतिशत अर्थात् रु एक अर्ब ७४ करोड १६ लाख ५ हजार, कात्तिकमा रु दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्यको ७२.३० प्रतिशत अर्थात् रु एक अर्ब ५३ करोड ७० लाख ८२ हजार, मङ्सिरमा रु एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्यको ८३.४५ प्रतिशत अर्थात् रु एक अर्ब ६३ करोड ८५ लाख १० हजार राजस्व उठेको छ।
त्यसैगरी पुसमा रु दुई अर्ब ३ करोड ४५ लाख २१ हजार लक्ष्यविरुद्ध रु एक अर्ब ६९ करोड ४४ लाख १३ हजार, माघमा रु एक अर्ब ९ करोड ६९ लाख ४० हजार लक्ष्यको ८८.२४ प्रतिशत अर्थात् रु एक अर्ब ७० करोड १ लाख ८२ हजार तथा फागुनमा रु एक अर्ब ९३ करोड ३८ लाख १९ हजार लक्ष्य बराबर नै राजस्व सङ्कलन भएको छ।
कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा पनि साउनदेखि फागुनसम्म क्रमशः ७३.६७, ६६.६२, ६६.९१, ७६.४४, ७६.२७, ७१.१५, ७५.१३ र ७३.६८ प्रतिशत राजस्व संकलन भएको थियो।
