काठमाडौं। केही राष्ट्रिय सञ्चारमाध्यममा एचडिपी पाइपको मूल्य ३० देखि ४० प्रतिशत ‘अस्वाभाविक’ रूपमा वृद्धि भएको भन्ने समाचारप्रति नेपाल पाइप उत्पादक संघ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले जारी गरेको विज्ञप्तिमा हाल देखिएको मूल्यवृद्धि अस्वाभाविक नभई विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोध तथा कच्चा पदार्थको मूल्यमा भएको तीव्र वृद्धिको परिणाम भएको स्पष्ट पारिएको छ।
संघका अनुसार मध्यपूर्व र पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको आपूर्ति तथा ढुवानी प्रभावित हुँदा पाइप उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ (ग्रान्युल्स) को आयातमा अवरोध पुगेको छ।
विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य करिब ६२ प्रतिशतले बढेको उल्लेख गरिएको छ। साथै, इन्धनको मूल्यवृद्धि, ढुवानी खर्चको बढोत्तरी र अमेरिकी डलरको विनिमय दरमा आएको उतारचढावका कारण उत्पादन लागत थप बढेको संघले जनाएको छ।
संघले कच्चा पदार्थको मौज्दात सकिँदा केही उद्योग बन्द भइसकेको र केही बन्द हुने अवस्थामा पुगेको समेत जानकारी दिएको छ।
यसैबीच, संघले खानेपानी कार्यालय, स्थानीय निकाय, गैरसरकारी संस्था तथा निर्माण व्यवसायीसँग भएका पूर्वसम्झौता र मूल्यलाई आपसी समझदारीमा समायोजन गर्न आग्रह गरेको छ। साथै, विषम परिस्थितिमा लचकता अपनाउन बैंक तथा वित्तीय संस्थालाई समेत अनुरोध गरिएको छ।
संघले परिस्थितिको फाइदा उठाएर अस्वाभाविक मूल्यवृद्धि गर्ने जो–कोहीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गर्दै उद्योगीहरूलाई उच्च नैतिकता अपनाई व्यवसाय सञ्चालन गर्न अपिल गरेको छ।
