काठमाडौं। जगदम्बा अटो ग्रुप प्रा.लि. को व्यापार तथा वित्तीय सूचकाङ्कमा उल्लेख्य सुधार देखिएको छ। शंकर समूह अन्तर्गत रहेको यो कम्पनीको सञ्चालन आम्दानी विगत चार वर्षमा निरन्तर बढ्दै गएको तथ्याङ्कले देखाएको छ।
कम्पनीले आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा मात्रै ४ अर्ब ४२ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। आर्थिक वर्ष २०२५ मा यसको व्यापार करिब ४४ प्रतिशतले बढ्दै ६ अर्ब ९९ करोड ९० लाख रुपैयाँ पुगेको थियो।
त्यसअघि आर्थिक वर्ष २०२३ मा २ अर्ब ७३ करोड ७० लाख रुपैयाँ र २०२४ मा ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीले निरन्तर वृद्धि कायम राखेको देखिन्छ।
नाफा सूचकाङ्कमा पनि सुधार देखिएको छ। आर्थिक वर्ष २०२४ मा ६.०२ प्रतिशत रहेको खुद नाफा मार्जिन २०२५ मा ७.०९ प्रतिशत पुगेको छ भने २०२६ को पहिलो ६ महिनामा बढेर ८.१५ प्रतिशत पुगेको छ।
कम्पनीको ऋण व्यवस्थापन र वित्तीय स्थायित्व सूचकाङ्कमा समेत सुधार आएको छ। कुल ऋण र सञ्चालन नाफाको अनुपात २०२३ को ३.१४ बाट घटेर २०२५ मा ०.९२ मा झरेको छ भने कुल पूँजी–ऋण अनुपात २.०१ बाट घटेर ०.६८ पुगेको छ।
त्यस्तै कुल बाह्य दायित्व र सम्पत्ति अनुपात पनि घट्दै १.८४ बाट ०.९३ मा झरेको छ। तरलता अनुपात १.२८ बाट बढेर १.७५ पुगेको छ, जसले अल्पकालीन दायित्व पूरा गर्ने क्षमतामा सुधार देखाएको छ।
ऋण सेवा कभरेज अनुपात पनि उल्लेख्य रूपमा बढ्दै २०२३ को १.४३ बाट २०२५ मा ७.३४ र २०२६ को पहिलो ६ महिनामा ९.४२ पुगेको छ। ब्याज तिर्न सक्ने क्षमता पनि ११.३२ गुणाबाट बढेर ११.५७ गुणा पुगेको छ।
यही सकारात्मक वित्तीय प्रदर्शनका आधारमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको साख मूल्याङ्कन स्तरोन्नति गरेको छ। कम्पनीको ४ करोड रुपैयाँ बराबरको दीर्घकालीन बैंक सुविधाको रेटिङ ‘ट्रीपल बी’ र २ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको अल्पकालीन बैंक सुविधाको रेटिङ ‘ए थ्री प्लस’ मा सुधार गरिएको हो।
सन् २०१४ मा स्थापित जगदम्बा अटो ग्रुप नेपालमा टीभीएस ब्रान्डका सवारी साधनको आधिकारिक एसेम्बली एकाइ हो। कम्पनीले भारतको टीभीएस मोटर कम्पनीबाट पार्टपुर्जा आयात गरी नेपालमै एसेम्बल गर्दै आएको छ।
कम्पनीको नेतृत्व शंकर ग्रुपका साहिल अग्रवालले गरिरहेका छन्। उत्पादन गरिएका सवारी साधनहरू भगिनी संस्था जगदम्बा मोटर्स प्रा.लि. मार्फत देशभर बिक्री हुँदै आएका छन्।
यद्यपि एउटै आपूर्तिकर्ता र ग्राहकमा निर्भरता तथा बजार प्रतिस्पर्धा कम्पनीका प्रमुख चुनौतीका रूपमा देखिएका छन्। तर सरकारले दिएको अन्तःशुल्क तथा आयात शुल्क छुटले कम्पनीको प्रतिस्पर्धात्मक क्षमता र नाफामा सहयोग पुर्याएको छ।
