काठमाडौं। नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले चैत ८ गते आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत उक्त रकम संकलन गर्ने जनाएको छ।
यस निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै गरिनेछ र यसको अवधि १४ दिनको रहनेछ। संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी चैत २२ गते गर्ने तयारी गरिएको छ।
यस बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
सूचना अनुसार इच्छुक संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्, जसमा रकम ५ करोडको गुणनमा हुनुपर्ने व्यवस्था गरिएको छ।
निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियामार्फत नै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ।
