टाटा ईभी ह्यारियर ईभी नयाँ संस्करण सार्वजनिक

काठमाडौं। भारतको अग्रणी विद्युतीय सवारी साधन निर्माता टाटा मोटर्स ले आफ्नो प्रिमियम एसयूभी ‘ह्यारियर ईभी’ को नयाँ संस्करण ‘फियरलेस प्लस क्युडब्लुडी ७५’ सार्वजनिक गरेको छ।

मुम्बईमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको यस नयाँ मोडलको सुरुवाती शोरुम मूल्य २६ लाख ४९ हजार भारतीय रुपैयाँ तोकिएको छ। नयाँ संस्करणसँगै कम्पनीले चार पाङ्ग्रे सञ्चालन (अल–व्हील ड्राइभ) प्रविधिलाई अझ सुलभ र पहुँचयोग्य बनाएको जनाएको छ।

शुद्ध विद्युतीय आर्किटेक्चरमा आधारित यो एसयूभीले ५०४ न्युटन मिटर टर्क उत्पादन गर्न सक्छ भने मात्र ६.३ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्षम रहेको कम्पनीले जनाएको छ।

गाडीमा दुईवटा मोटर र चार पाङ्ग्रे सञ्चालन प्रणाली समावेश गरिएको छ, जसले कठिन सडक र विभिन्न भू–भागमा उत्कृष्ट स्थिरता प्रदान गर्ने बताइएको छ। यसमा ६ वटा टेरेन मोड, अफ–रोड असिस्ट र बुस्ट मोड जस्ता सुविधा रहेका छन्।

सुविधाका हिसाबले गाडीमा मेमोरी फिचरसहित ६–तर्फी विद्युतीय चालक सिट, ४–तर्फी विद्युतीय सह–चालक सिट र अगाडिका सिटमा भेन्टिलेशन सुविधा उपलब्ध छ। साथै ३६० डिग्री क्यामेरा, जेबीएलको १० स्पिकर अडियो सिस्टम, १९ इन्च अलोय ह्विल र भ्वाइस कन्ट्रोल क्लाइमेट कन्ट्रोल प्रणाली पनि जडान गरिएको छ।

कम्पनीले नयाँ ‘सीवीड ग्रीन’ रङ विकल्प पनि सार्वजनिक गरेको छ। सुरक्षाका हिसाबले यो मोडलले ‘भारत–एनक्याप’ अन्तर्गत ५–तारा रेटिङ प्राप्त गरेको छ।

टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका अनुसार हालसम्म ६ महिनामै १३ हजारभन्दा बढी ह्यारियर ईभी बिक्री भइसकेका छन्।

ह्यारियर ईभी विभिन्न ७ भेरियन्टमा उपलब्ध रहेको छ। सुरुवाती मोडल ‘एडभेन्चर ६५’ को मूल्य २१.४९ लाख भारतीय रुपैयाँबाट सुरु हुन्छ भने प्रिमियम ‘इम्पावर्ड ७५’ अल–व्हील ड्राइभ संस्करण २८.९९ लाख रुपैयाँसम्म पुग्छ।

कम्पनीले एसी फास्ट चार्जरको विकल्प लिन चाहने ग्राहकले थप ४९ हजार भारतीय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेको जनाएको छ।