काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा ‘स्मार्ट मनि टक’ नारासहित देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम तथा सचेतनामूलक र्यालीहरू सफलतापूर्वक सम्पन्न गरेको छ। वित्तीय व्यवस्थापनको महत्त्वबारे सर्वसाधारणमा जागरूकता फैलाउने उद्देश्यले विभिन्न शाखामार्फत विविध कार्यक्रमहरू सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
वित्तीय सचेतनालाई प्राथमिकता दिँदै फाइनान्सको खरेन्द्रपुर शाखाले चैत ८ गते नेपाल राष्ट्र बैंक खरेन्द्रपुरद्वारा आयोजित र्यालीमा सहभागिता जनाएको थियो। सो अवसरमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू समेत आयोजना गरिएका थिए।
यसअघि चैत ६ गते पुतलीसडक शाखाले नेसनल युनाइटेड स्कूलका कक्षा ७, ८ र ९ का ७० विद्यार्थीलाई शाखा भ्रमणमार्फत वित्तीय साक्षरता प्रशिक्षण प्रदान गरेको थियो। त्यसैगरी चैत ८ गते पोखरा शाखाले कन्या क्याम्पसका कक्षा ११, १२ तथा स्नातक तहका १५१ विद्यार्थीलाई विद्यालयमै पुगेर वित्तीय शिक्षा प्रदान गरेको जनाएको छ।
फाइनान्सको गैँडाकोट शाखाले श्री बालगोविन्द जनता माध्यमिक विद्यालयका २५ विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी तालिम दिएको छ भने बुटवल शाखाले २८ युवा व्यवसायीलाई वित्तीय योजना तथा व्यवस्थापनबारे प्रशिक्षण दिएको छ। मधुवन शाखाले श्री जनता बोर्डिङ स्कुलका ३८ विद्यार्थीलाई वित्तीय ज्ञान प्रदान गरेको जनाएको छ।
यसैगरी जनकपुर शाखाले मोडेल मल्टिपल कलेजका कक्षा १२ का विद्यार्थीहरूलाई वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको छ भने औरही शाखाले द सनराइज बोर्डिङ स्कुलका ४७ विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिएको जनाएको छ।
समृद्धि फाइनान्सले वित्तीय ज्ञान र सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। “वित्तीय ज्ञानले नै सुरक्षित भविष्य निर्माण गर्न सकिन्छ” भन्ने सन्देशसहित संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता अभियानलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको यस वित्त कम्पनीले हाल १३ वटा शाखामार्फत सेवा दिइरहेको छ। कम्पनीले आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्गलगायतका बैंकिङ सेवा साथै मोबाइल बैंकिङ, डेबिट कार्ड र क्यूआर कोडजस्ता डिजिटल सुविधाहरू उपलब्ध गराउँदै आएको छ।
