नाडामा नयाँ नेतृत्व, मल्ल महासचिव चयन

काठमाडौँ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको महासचिवमा मिलनबाबु मल्ल चयन भएका छन्। यसअघि फागुन २५ गते अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती चयन भएको नाडाले १२ दिनपछि पूर्ण कार्यसमिति गठन गरेको हो।

आइतबार अध्यक्ष उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले विधान २०७१ (संशोधनसहित) को दफा २०.७ बमोजिम निर्वाचित कार्यसमितिबाट २९ सदस्यीय कार्यसमिति चयन गरेको जनाएको छ।

महासचिव पदका लागि अन्य दाबेदारहरूबीच प्रतिस्पर्धा रहे पनि अन्ततः मल्ल चयन भएका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी निकट मानिन्छन् र सो पार्टीले उनलाई समानुपातिक सूचीमा समेत राखेको थियो। महासचिव पदमा प्रकाश कपुरीमेघराज पौडेल लगायतको दाबी रहेको थियो।

बैठकले अन्य पदाधिकारीहरू समेत चयन गरेको छ। नाडाको निवर्तमान अध्यक्षमा करणकुमार चौधरी, संस्थागत उपाध्यक्षहरूमा भद्र भण्डारीगणेशप्रसाद भट्टराई चयन भएका छन्। उपाध्यक्षहरूमा विक्रम सिंहानियाअभिक ज्योति रहेका छन्।

यसैगरी सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल र सह–कोषाध्यक्षमा नीलमणि पाठक चयन भएका छन्।

संस्थागत सदस्यहरूबाट प्रदेश सदस्यका रूपमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दीपेन्द्र कोइरालापुष्कर ओझा चयन भएका छन्।

त्यस्तै अनुपकुमार बराल, तोयानाथ खनाल, दीपकराज गिरी, दीपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नवीनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशीविमल साह सदस्यमा चयन भएका छन्।

बैठकमा अध्यक्ष उप्रेतीले दीपककुमार अग्रवाल, महेश पालराजेशप्रसाद गिरीलाई कार्यसमितिमा मनोनीत गरेका छन्।

नयाँ कार्यसमिति चयनसँगै नाडाले अटोमोवाइल क्षेत्रको प्रवर्द्धन, नीति सुधार र व्यवसायिक वातावरण सुदृढ गर्ने दिशामा थप सक्रिय हुने अपेक्षा गरिएको छ।