काठमाडौं । नेपालले आफ्नो अभिन्न भूभाग दाबी गर्दै आएको लिपुलेक नाका ६ वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ। आगामी जुन महिनादेखि भारतले चीनसँगको सीमा व्यापार पुनः सुरु गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सन् २०२० मा कोभिड–१९ महामारी र सीमा क्षेत्रमा उत्पन्न तनावका कारण बन्द गरिएको यो ऐतिहासिक व्यापारिक मार्ग पुनः सञ्चालनका लागि भारतले आन्तरिक तयारी तीव्र पारेको हो। भारतीय परराष्ट्र मन्त्रालयले उत्तराखण्डको पिथौरागढ जिल्ला प्रशासनलाई जानकारी दिँदै आवश्यक भन्सार, बैंक, दूरसञ्चार र सुरक्षा निकायहरूसँग समन्वय बैठकहरू सम्पन्न गरिसकेको जनाइएको छ।
जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने यो व्यापारिक मार्गले हिमाली क्षेत्रको सीमा व्यापारलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। करिब १७ हजार ५०० फिट उचाइमा रहेको यो भञ्ज्याङले भारतलाई तिब्बतको ताक्लाकोटसँग जोड्ने महत्वपूर्ण नाका हो।
सन् १९६२ को भारत–चीन युद्धपछि बन्द भएको यो मार्ग सन् १९९२ मा पुनः खोलिएको थियो र सन् २०२० सम्म निरन्तर सञ्चालनमा थियो। हाल सडक पूर्वाधार विकास भइसकेकाले खच्चड र भेडाको भर पर्नुपर्ने अवस्था हट्ने र ढुवानी लागत तथा समय दुवै घट्ने अनुमान गरिएको छ।
यस नाकाको पुनः सञ्चालनले स्थानीय अर्थतन्त्र र सीमापार व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। गुन्जी क्षेत्रमा बैंक, भन्सार, दूरसञ्चार तथा सुरक्षा व्यवस्थाका तयारीहरू पनि अघि बढाइएको जनाइएको छ।
तर यो विषय भू–राजनीतिक रूपमा संवेदनशील मानिन्छ। नेपालले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो अभिन्न भूभाग दाबी गर्दै आएको छ। सन् २०२० मा सडक उद्घाटनपछि नेपालले आपत्ति जनाउँदै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो।
आगामी दिनमा यो विषय नेपाल, भारत र चीनबीचको कूटनीतिक संवाद र सहमतिमा निर्भर रहने देखिएको छ।
