वैदेशिक व्यापारमा सुधार, निर्यातमा उत्साह

काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउन–फागुन) को तथ्याङ्कअनुसार नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैमा वृद्धि देखिएको छ।

यस अवधिमा आयात १२.५४ प्रतिशतले बढ्दा निर्यातमा २०.८३ प्रतिशतको उत्साहजनक वृद्धि भएको छ। तर आयातको मात्रा उच्च भएकाले व्यापार घाटा भने ११.२२ प्रतिशतले बढेर झण्डै ११ खर्ब रुपैयाँ पुगेको छ।

तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएकोमा चालु वर्षमा बढेर १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

निर्याततर्फ पनि सुधार देखिएको छ। गत वर्ष १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँको निर्यात भएकोमा यस वर्ष २०.८३ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। कुल वैदेशिक व्यापार भने १३.५५ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।

यससँगै नेपालको व्यापार घाटा १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा ११.२२ प्रतिशतले बढी हो।

तथ्याङ्कले कुल व्यापारमा निर्यातको हिस्सा १२.१३ प्रतिशतबाट बढेर १२.९१ प्रतिशत पुगेको देखाएको छ भने आयातको हिस्सा ८७.८७ प्रतिशतबाट घटेर ८७.०९ प्रतिशतमा झरेको छ। साथै, १ रुपैयाँको निर्यात गर्दा हुने आयात ७.२४ रुपैयाँबाट सुधार हुँदै ६.७५ रुपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको इन्धन मूल्य, ढुवानी लागत र आपूर्ति शृंखलामा आएको उतारचढावले आयात खर्च बढाएको भए पनि निर्यात वृद्धिलाई सकारात्मक संकेतका रूपमा लिइएको छ।

भन्सार विभागका अनुसार निर्यात विस्तार भए पनि आयात निर्भरता उच्च रहेकाले व्यापार असन्तुलन अझै प्रमुख चुनौतीका रूपमा कायम रहेको छ।