काठमाडौं । विश्व राजनीति र युद्धको चपेटामा रहेका पश्चिम एसियाली मुलुकहरू तथा शक्तिशाली राष्ट्र अमेरिकासँग नेपालको व्यापारिक सम्बन्धमा रोचक तथ्यांक देखिएको छ। भन्सार विभाग ले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउन–फागुन) को तथ्यांकअनुसार इरान, इजरायल र अमेरिकासँग नेपालको कुल व्यापारमा उल्लेखनीय गतिविधि देखिएको छ।
यस अवधिमा यी तीन देशतर्फ नेपालको कुल आयात २४ अर्ब २५ करोड ७३ लाख ७० हजार रुपैयाँ पुगेको छ भने निर्यात १२ अर्ब ८४ करोड ९९ लाख रुपैयाँमा सीमित रहेको छ। यससँगै व्यापार घाटा ११ अर्ब ४० करोड ७४ लाख ७० हजार रुपैयाँ पुगेको छ।
समग्र वैदेशिक व्यापारमा पनि वृद्धि देखिएको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँको आयात भएकोमा चालू वर्षमा १२.५४ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। निर्याततर्फ २०.८३ प्रतिशतको सुधारसहित १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ भने कुल वैदेशिक व्यापार १३.५५ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।
तीन देशमध्ये अमेरिकासँग नेपालको व्यापार सबैभन्दा ठूलो देखिएको छ। अमेरिकाबाट मात्र २० अर्ब ३७ करोड ९१ लाख ४० हजार रुपैयाँ बराबरको आयात भएको छ भने नेपालले १२ अर्ब ८० करोड ४ लाख ३० हजार रुपैयाँ बराबरको निर्यात गरेको छ। अमेरिकासँग व्यापार घाटा ७ अर्ब ५७ करोड ८७ लाख १० हजार रुपैयाँ रहेको छ।
इजरायलसँग नेपालको व्यापार तुलनात्मक रूपमा सानो भए पनि घाटा उच्च देखिएको छ। इजरायलबाट ३ अर्ब ८७ करोड ६ लाख ८२ हजार रुपैयाँको आयात हुँदा निर्यात केवल ४ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ, जसले ३ अर्ब ८२ करोड २१ लाख ८२ हजार रुपैयाँको व्यापार घाटा देखाएको छ।
इरानसँगको व्यापार अझै न्यून स्तरमा रहेको छ। इरानबाट ७५ लाख ४८ हजार रुपैयाँको आयात हुँदा ९ लाख ७० हजार रुपैयाँको निर्यात भएको छ।
विश्व बजारमा देखिएको ऊर्जा संकट, विशेषगरी इरान–इजरायल तनाव र तेल आपूर्ति अवरोधले अन्तर्राष्ट्रिय बजार प्रभावित भएको छ। स्ट्रेट अफ हर्मुज क्षेत्रमा अवरोधपछि कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भए पनि पछिल्ला कूटनीतिक निर्णयहरूले आपूर्तिमा केही सहजता ल्याउने अपेक्षा गरिएको छ।
विशेषगरी अमेरिकाले इरानी तेल आपूर्तिमा अस्थायी लचकता अपनाएपछि एसियाली मुलुकहरूलाई राहत मिल्ने अनुमान गरिएको छ। यसले नेपाल जस्ता इन्धन आयातकर्ता देशहरूको ढुवानी लागत र बजार मूल्यमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।
समग्रमा युद्ध र अन्तर्राष्ट्रिय अस्थिरताका बीच पनि नेपालको व्यापार विस्तार भइरहेको देखिए पनि व्यापार घाटा भने अझै प्रमुख चुनौतीका रूपमा कायम रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
