इँटा उद्योगमा वर्षाले क्षति, पुनःस्थापनाको अपेक्षा

महोत्तरी । बेमौसमी वर्षाका कारण महोत्तरीका इँटा उद्योगहरूमा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। इँटा उद्योग व्यवसायी सङ्घ महोत्तरीका अनुसार जिल्लाभित्र रहेका तीन दर्जनभन्दा बढी इँटा उद्योग प्रभावित भएका छन्।

सङ्घका अध्यक्ष सञ्जय चौधरीका अनुसार गत शुक्रबार, शनिबार र आइतबार परेको बेमौसमी वर्षाका कारण पकाउनका लागि तयार पारिएको काँचो इँटा पूर्ण रूपमा नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार करिब ६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।

इँटा उत्पादनका लागि अनुकूल मानिने माघ, फागुन र चैत महिनामा उद्योगीहरूले ठूलो लगानी गरेर इँटा सुकाउने तथा पकाउने तयारी गरेका थिए। प्रत्येक उद्योगले करिब १५ देखि २२ लाख रुपैयाँसम्म लगानी गरेर तयार पारेको इँटा वर्षाले नष्ट गरिदिएको व्यवसायीहरूले बताएका छन्।

औरही नगरपालिका–२ स्थित न्यु बाबा इँटा उद्योगका सञ्चालक हरिनारायण यादवका अनुसार वर्षभरि बिक्री गर्न तयार गरिएको इँटा अचानक आएको वर्षाले पगालेर नष्ट गरिदिएपछि ठूलो आर्थिक संकट सिर्जना भएको छ।

त्यस्तै, न्यु मिथिला इँटा उद्योगका सञ्चालक रामबाबु चौधरीले कडा मेहनत र ठूलो लगानी गरेर तयार पारिएको उत्पादन क्षणभरमै नष्ट हुँदा उद्योगीहरू ठूलो मारमा परेको बताएका छन्।

बेमौसमी वर्षाले जिल्लाका उद्योगहरूमा न्यूनतम ८ लाखदेखि अधिकतम २२ लाख रुपैयाँसम्मको व्यक्तिगत क्षति पुगेको जनाइएको छ।