काठमाडौं । नेपालको वैदेशिक व्यापारमा विस्तार भए पनि व्यापार घाटा भने उच्च स्तरमा कायम रहेको देखिएको छ। परनिर्भरता बढ्दै जाँदा चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म मुलुकले करिब ११ खर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ।
भन्सार विभाग को तथ्याङ्कअनुसार भारत, चीनसहित प्रमुख पाँच मुलुकसँग मात्रै नेपालको व्यापार घाटा झन्डै १० खर्ब रुपैयाँ पुगेको छ।
भारतसँग सबैभन्दा बढी ५ खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा रहेको छ। भारतबाट ७ खर्ब २४ अर्ब ६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएकोमा १ खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँको निर्यात भएको छ।
त्यस्तै, चीनसँग २ खर्ब ७५ अर्ब ६६ करोड रुपैयाँ आयात र ९८ करोड ३३ लाख रुपैयाँ निर्यात हुँदा २ खर्ब ६४ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा देखिएको छ।
अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इन्डोनेसियासँग पनि क्रमशः ७५ अर्ब, ४४ अर्ब ४१ करोड र १४ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा रहेको छ।
समग्रमा, पछिल्लो आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको आयात र १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँको निर्यात भएको छ। गत वर्षको तुलनामा आयात १२.५४ प्रतिशत र निर्यात २९.८३ प्रतिशतले बढेको छ।
पेट्रोलियम पदार्थ आयातमा सबैभन्दा ठूलो हिस्सा देखिएको छ। यस अवधिमा ८२ अर्ब १० करोड रुपैयाँ बराबरको डिजेल, ४३ अर्ब ८९ करोड रुपैयाँको पेट्रोल र ३७ अर्ब ३१ करोड रुपैयाँको एलपी ग्यास आयात भएको छ।
त्यस्तै, स्मार्टफोन, फलामजन्य वस्तु, सुन, चाँदी तथा कच्चा तेलजस्ता वस्तुहरूको आयात पनि उच्च रहेको तथ्याङ्कले देखाएको छ।
निर्याततर्फ भने भटमास तेल पहिलो स्थानमा रहेको छ, जसको निर्यात ७५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। अलैँची, कार्पेट, सूर्यमुखी तेल र पाम तेलजस्ता वस्तुहरूले पनि निर्यातमा योगदान दिएका छन्।
खाद्य वस्तुमा परनिर्भरता अझै उच्च देखिएको छ। विशेषगरी चामलको आयात २७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षभन्दा बढी हो।
