कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा राजस्व सङ्कलनमा उल्लेखनीय प्रगति गरेको छ। कार्यालयले वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरिसकेको छ भने बाँकी चार महिनामा ४० प्रतिशत राजस्व उठाउनुपर्ने देखिएको छ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा रु १५ करोड ८४ लाख ४९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको छ। यसमध्ये फागुन मसान्तसम्म रु नौ करोड ६२ लाख ४१ हजार राजस्व सङ्कलन भइसकेको छ।
महिनागत विवरणअनुसार सबैभन्दा कम राजस्व सङ्कलन साउन महिनामा भएको छ। उक्त महिनामा रु एक करोड २८ लाख ९० हजार लक्ष्य रहेकोमा रु ६३ लाख ३७ हजार मात्र सङ्कलन भई लक्ष्यको ४९ दशमलव १७ प्रतिशत हासिल भएको कार्यालय प्रमुख चक्रबहादुर सोनीले जानकारी दिएका छन्। यता, सबैभन्दा बढी राजस्व सङ्कलन मङ्सिर महिनामा भएको छ, जहाँ रु एक करोड २१ लाख १० हजार लक्ष्य रहेकामा रु एक करोड ६७ लाख ७४ हजार अर्थात् १३८ दशमलव ५१ प्रतिशत राजस्व उठेको छ।
बितेका आठ महिनामध्ये चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ भने चार महिनामा लक्ष्य हासिल हुन सकेको छैन। असोज, मङ्सिर, पुस र माघ महिनामा लक्ष्यभन्दा बढी राजस्व उठेको छ भने साउन, भदौ, कात्तिक र फागुन महिनामा लक्ष्यअनुसार सङ्कलन हुन सकेको छैन।
गत आर्थिक वर्षमा भने सत्ती भन्सार कार्यालयले उत्कृष्ट प्रदर्शन गर्दै लक्ष्यभन्दा ११९ प्रतिशत राजस्व सङ्कलन गरेको थियो। रु १२ करोड सात लाख ३२ हजार लक्ष्य रहेकामा रु १४ करोड ३७ लाख ८२ हजार राजस्व सङ्कलन गरिएको थियो।
यसअघि भने लगातार तीन आर्थिक वर्ष लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा रु १२ करोड एक लाख ४७ हजार लक्ष्य रहेकामा रु १० करोड दुई लाख ४२ हजार मात्र सङ्कलन भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा रु १६ करोड ९४ लाख ४१ हजार लक्ष्य रहेकामा रु सात करोड ५० लाख ४० हजार मात्रै राजस्व उठेको थियो।
आर्थिक वर्ष २०७८/७९ मा रु २० करोड ५८ लाख ६१ हजार लक्ष्य रहेकामा रु १० करोड ६७ लाख ९३ हजार मात्र सङ्कलन भएको थियो। यद्यपि आर्थिक वर्ष २०७७/७८ मा भने रु १४ करोड २३ लाख ४८ हजार लक्ष्य पाएको भन्सार कार्यालयले रु १५ करोड ८३ लाख सात हजार राजस्व सङ्कलन गर्दै लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेको थियो।
