काठमाडौंमा नियमित बजार अनुगमनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन तीन वटा फर्मलाई जरिवाना गरेको छ। स्थलगत निरीक्षणका क्रममा कैफियत फेला परेपछि विभागले कारबाही अघि बढाएको हो।
विभागका अनुसार ललितपुर महानगरपालिका–२२ बुङ्मतिमा रहेको सुवा ग्रोसरीलाई रु ५० हजार जरिवाना गरिएको छ। त्यस्तै, ललितपुर महानगरपालिका–१८ मगरगाउँमा अवस्थित प्रमिसा खाद्यस्टोरलाई रु १० हजार तथा सूर्यविनायक नगरपालिका–६ पाण्डु बजारमा रहेको एजे सप्लायर्सलाई पनि रु १० हजार जरिवाना गरिएको विभागले जनाएको छ। ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको हो।
यसैबीच, विभागले थप १२ वटा फर्मलाई सुधारात्मक निर्देशन दिएको छ। बजारमा उपभोक्ताको हकहित संरक्षण गर्न विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सम्बन्धित निकायहरूको सहभागितामा नियमित रूपमा अनुगमन गर्दै आएको जनाएको छ।
विभागको सक्रियतासँगै बजारमा अनुशासन कायम गर्न र उपभोक्ता संरक्षण सुदृढ बनाउन सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
