काठमाडौं । गृह मन्त्रालय ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) नियन्त्रण तथा वित्तीय लगानी न्यूनीकरणका लागि सबै पक्षसँग सहयोगको अपिल गरेको छ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् द्वारा सूचीकृत व्यक्ति, समूह वा सङ्गठनसँग सम्बन्धित गतिविधिबारे कुनै विश्वसनीय सूचना वा आधार प्राप्त भएमा सो जानकारी गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरिएको छ।
त्यस्तै, कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो काम कारबाहीका क्रममा अनाधिकृत गतिविधि गरेको पाइएमा त्यसबारे सम्बन्धित निकायलाई जानकारी गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयका अनुसार यस्ता सूचना नजिकको जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रशासन वा प्रदेश समन्वय शाखामा उपलब्ध गराउन सकिनेछ।
यो आग्रह सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ बमोजिम गरिएको हो।
मन्त्रालयले सम्पत्ति शुद्धीकरणविरुद्ध प्रभावकारी नियन्त्रण कायम गर्न आम नागरिक तथा सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरेको छ।
