काठमाडौं । इनड्राइभ ले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानअन्तर्गत विजेता चालक साझेदारहरूलाई विशेष कार्यक्रममार्फत काठमाडौंमा पुरस्कार वितरण गरेको छ। विश्वव्यापी मोबिलिटी तथा शहरी सेवा प्लेटफर्मका रूपमा परिचित इनड्राइभले चालकहरूको योगदानको कदर गर्दै उक्त अभियान सञ्चालन गरेको हो।
१५ डिसेम्बर २०२५ देखि ४ जनवरी २०२६ सम्म सञ्चालन भएको तीन साताको अभियानको उद्देश्य उत्कृष्ट प्रदर्शन तथा सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लेटिनम’ स्तर कायम राख्ने चालक साझेदारहरूको पहिचान र सम्मान गर्नु रहेको कम्पनीले जनाएको छ।
अभियानअन्तर्गत साप्ताहिक चुनौतीहरू, आकर्षक प्रोत्साहन तथा दुई प्रमुख ग्रान्ड पुरस्कारमार्फत उत्कृष्ट र प्रतिबद्ध चालकहरूको योगदानलाई उच्च मूल्याङ्कन गरिएको थियो।
ग्रान्ड पुरस्कारतर्फ क्याब चालक श्रेणीमा तुम बहादुर थापा मगर ले TATA Xpres-T EV प्राप्त गरेका छन् भने बाइक/मोटो राइडर श्रेणीमा अशेष मगर ले TVS Raider जितेका छन्। दुवै विजेता तीनै हप्ताभर प्लेटिनम स्तर कायम राख्दै सबै मापदण्ड पूरा गर्नेमध्येबाट छनोट भएका हुन्।
यसका अतिरिक्त अभियानअन्तर्गत विभिन्न साप्ताहिक पुरस्कारहरू पनि वितरण गरिएको थियो। जसअन्तर्गत १५ जनालाई Redmi Note 14 5G स्मार्टफोन, ३० जनालाई Ultima Atom 192 ब्लुटुथ इयरबड्स, ३० जनालाई Ultima Circle स्मार्ट वाच तथा १,५०० जनालाई पेट्रोल भौचर प्रदान गरिएको छ।
पुरस्कार प्राप्तिपछि प्रतिक्रिया दिँदै तुम बहादुर थापा मगरले आफ्नो मेहनत र समर्पणको कदर भएको भन्दै खुशी व्यक्त गरे। उनले प्लेटिनम स्तर कायम राख्न निरन्तरता, अनुशासन र उत्कृष्ट सेवा आवश्यक हुने बताए। यस्तै, अशेष मगरले ग्रान्ड पुरस्कार जित्न पाउँदा अत्यन्त उत्साहित भएको उल्लेख गर्दै यसले सेवा स्तर अझ सुधार गर्न प्रेरित गरेको बताए।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनीता जीमी राई ले चालक साझेदारहरू नै कम्पनीको सफलताको आधार भएको बताउँदै उनीहरूको समर्पणको सम्मानस्वरूप अभियान सञ्चालन गरिएको जानकारी दिइन्। उनले यस्ता कार्यक्रमहरूले चालकहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने र उनीहरूलाई सशक्त बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिन्।
कम्पनीले चालकहरूलाई सेवा प्रदायक मात्र नभई समुदायका महत्वपूर्ण सदस्यका रूपमा लिँदै निष्पक्षता, पारदर्शिता र रोजाइमा आधारित सेवामार्फत दिगो विकासतर्फ अघि बढ्ने प्रतिबद्धता समेत दोहोर्याएको छ।
