लघुवित्तमा नयाँ दिशा तय

काठमाडौं । राजधानीमा आयोजित पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०८२ नौ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले लघुवित्त क्षेत्रमार्फत उद्यमशीलताको विकास र युवाहरूलाई स्वरोजगारतर्फ आकर्षित गर्ने मुख्य लक्ष्य अघि सारेको छ।

सम्मेलनबाट पारित घोषणापत्रमा देशको आर्थिक विकासलाई टेवा पुर्‍याउन विद्यालय तहदेखि नै ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने, युवाहरूलाई सीपमूलक तालिम प्रदान गर्ने तथा नवप्रवर्तनमा प्रोत्साहन गर्ने योजना समावेश गरिएको छ। साथै लघुवित्त सदस्यहरूसँग गरिने व्यवहारलाई थप मर्यादित, पारदर्शी र जिम्मेवार बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

वातावरण संरक्षण तथा दिगो विकासलाई प्राथमिकतामा राख्दै सम्मेलनले ‘तीन शून्य’ अवधारणा अघि सारेको छ, जसअन्तर्गत शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जन लक्ष्य निर्धारण गरिएको छ। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न प्रत्येक लघुवित्त संस्थाले कम्तीमा एउटा वातावरणमैत्री गाउँ निर्माणमा पहल गर्ने लक्ष्य लिइएको छ।

प्रविधिको उपयोगलाई विस्तार गर्ने उद्देश्यसहित लघुवित्त सेवालाई डिजिटल माध्यममार्फत सरल, सुरक्षित र प्रभावकारी बनाउने योजना पनि सार्वजनिक गरिएको छ। सदस्यहरूमा डिजिटल साक्षरता अभिवृद्धि गर्ने, निष्क्रिय सदस्यहरूलाई वित्तीय साक्षरतामार्फत पुनः सक्रिय बनाउने तथा विपन्न महिलालाई सेवा लिनबाट वञ्चित गराउने गलत प्रवृत्तिविरुद्ध समुदायस्तरमै सचेतना अभिवृद्धि गर्ने विषयलाई समेत प्राथमिकता दिइएको छ।

सम्मेलनको समापन सत्रमा दीपेन्द्र बहादुर क्षेत्री ले लघुवित्त संस्थाहरूले बैंकिङ पहुँच बाहिर रहेका विपन्न समुदायसम्म पुगेर सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। त्यस्तै डा. विजयनाथ भट्टराई ले लघुवित्त क्षेत्रमा बढ्दो निष्क्रिय कर्जालाई चुनौतीका रूपमा औँल्याउँदै आन्तरिक सुशासन र प्रविधिको प्रभावकारी प्रयोगमा जोड दिनुपर्ने बताए।

सम्मेलनमा सहभागीहरूले लघुवित्त क्षेत्रका समस्या समाधानका लागि सरकार तथा नियामक निकायसँग समन्वय, संवाद र सहकार्यलाई थप सुदृढ बनाउँदै अघि बढ्नुपर्ने सामूहिक धारणा व्यक्त गरेका छन्।