मध्यपूर्व तनावः वार्ता दाबी र मिसाइल आक्रमणबीच अस्थिरता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग “फलदायी वार्ता” भइरहेको दाबी गरेको केही समयमै इरान ले इजरायल माथि दर्जनौँ मिसाइल प्रहार गरेपछि मध्यपूर्व संकट अझ गहिरिएको छ। तेहरानले वार्ता भएको दाबीलाई ‘प्रोपगान्डा’ भन्दै अस्वीकार गरेपछि विश्वभर तेलको मूल्य र सुरक्षा चासो तीव्र रूपमा बढेको छ।

इजरायली सेनाका अनुसार इरानले इजरायलमाथि बहु चरणका मिसाइल आक्रमण गरेको छ। आकाशमा मिसाइल प्रतिरोधी प्रणाली सक्रिय भई विष्फोटका आवाजहरू गुन्जिरहेका थिए। उत्तरी इजरायलमा मिसाइलका अवशेष खस्दा केही भौतिक क्षति भए पनि अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

यो आक्रमण त्यतिबेला भएको हो, जब राष्ट्रपति ट्रम्पले इरानी अधिकारीहरूसँगको “पूर्ण र समग्र समाधान” सम्बन्धी छलफललाई आधार मान्दै इरानको पावर ग्रिडमा हमला गर्ने योजना पाँच दिनका लागि स्थगित गरेको घोषणा गरेका थिए।

तर, मोहम्मद बाकेर कलिबाफ ले ट्रम्पको दाबी खारेज गर्दै कुनै वार्ता नभएको प्रस्ट पारेका छन्। उनले यसलाई वित्तीय र तेल बजारमा आफ्नै स्वार्थ पुर्‍याउन रचिएको ‘फेक न्युज’ ठहर गरेका छन्। इरानको रिभोलुसनरी गार्ड्स ले पनि यसलाई पुरानो शैलीको “मनोवैज्ञानिक अपरेसन” भन्दै आफ्नो लडाइँको रणनीतिमा असर नपर्ने बताएको छ।

तेहरान र वासिङ्टनबाट आएको विरोधाभासी सन्देशले विश्व ऊर्जा बजार अस्थिर बनाएको छ। हर्मोज जलसन्धि बन्द हुने डर र युद्धको त्रासका कारण कच्चा तेलको मूल्य चार प्रतिशतभन्दा बढी बढेको छ।

अमेरिकी पक्षले विशेष दूत र सल्लाहकारमार्फत इरानी पक्षसँग छलफल भइरहेको दाबी गरे पनि तेहरानले यसलाई अस्वीकार गरिरहेको छ। केही क्षेत्रीय स्रोतका अनुसार प्रत्यक्ष वार्ता नभए पनि छिमेकी मुलुकहरूले सन्देश आदानप्रदानमा मध्यस्थता गरिरहेका छन्।

फेब्रुअरीको अन्त्यदेखि सुरु भएको तनावले अहिलेसम्म दुई हजारभन्दा बढीको ज्यान लिएको छ र यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा दीर्घकालीन संकट निम्त्याउने जोखिम बढाएको विशेषज्ञहरूले बताएका छन्।