काठमाडौँ । नेपालका तयारी पोशाक उद्योगलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने उद्देश्यसहित तयारी पोशाक उद्योग संघ र अष्ट्रेलियाको अन्तर्राष्ट्रिय संस्था ऊलमार्कबीच सहकार्य सुरु भएको छ।
सहकार्य कार्यक्रम
‘अपर्चुनिटी विथ मेरिनो ऊल फर नेपाल’ विषयक कार्यक्रममा संघका अध्यक्ष पशुपतिदेव पाण्डेले सहकार्यले नेपाली अर्थतन्त्र र निर्यात क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले बताएअनुसार यो परियोजनाका लागि विगत ६ महिनादेखि भारत र नेपालमा विभिन्न चरणमा अध्ययन र छलफल भएको थियो।
सहकार्यको महत्व
पाण्डेका अनुसार, नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति प्रक्रियामा रहँदा ऊलमार्कसँगको सहकार्य अझ महत्वपूर्ण छ। मेरिनो ऊनबाट बनेका कपडाहरू विश्व बजारमा उच्च गुणस्तर र मूल्यको मानिन्छन्। नेपालबाट निर्यात हुने सानो आकारका तयारी पोशाकले ‘निस मार्केट’मा प्रतिस्पर्धा गर्न सक्ने र राज्यको ढुकुटीमा योगदान पुर्याउने पाण्डेले बताए।
हाल, नेपालबाट वार्षिक १० अर्ब रुपैयाँभन्दा बढी तयारी पोशाक निर्यात भइरहेको छ, जुन गलैंचापछि तेस्रो मुलुक निर्यात हुने दोस्रो ठूलो वस्तु हो।
उद्योगको भविष्य र सम्भावना
पाण्डेले निजी क्षेत्रको समस्या बुझ्ने र व्यापारलाई प्राथमिकता दिने नयाँ सरकारप्रति अपेक्षा व्यक्त गर्दै भने, “हामीले ऊलमार्कसँग कसरी काम गर्ने भनेर लामो समय छलफल ग¥यौँ। हाम्रो सदस्य कम्पनी ट्रिकोट ले यसमा काम सुरु गरिसकेको छ। यो नेपालका लागि ठूलो अवसर हो। भविष्यमा ‘डबल ट्रान्सफर्मेसन’ को प्रावधानमा जानुपर्ने अवस्थामा ऊलमार्कले ठूलो सहयोग गर्नेछ।”
उनले थपे, हाल फ्याब्रिक आयात गरेर काम सुरु भए पनि भविष्यमा नेपालमै बाख्रा पालन र प्राकृतिक रेशा उत्पादन गर्ने सम्भावना रहेको छ। यसबाट नेपालमै कच्चा पदार्थ उत्पादन र अन्तर्राष्ट्रिय गुणस्तरको कपडा निर्माण सम्भव हुने उनले विश्वास व्यक्त गरे।
यो सहकार्यले नेपाली तयारी पोशाक उद्योगलाई विश्वस्तरीय गुणस्तर, उच्च मूल्य र निर्यात वृद्धिमा नयाँ आयाम दिन सक्ने अपेक्षा गरिएको छ।
