सिटिजन्स बैंकले सातै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न, ६ हजार लाभग्राही

काठमाडाैं । ग्लोबल मनि विक २०२६ को अवसरमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले सातै प्रदेशमा विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ। बैंकले आफ्ना १०८ शाखा कार्यालयमार्फत स्मार्ट मनी टक्स २०२६ मूल नाराका साथ गत चैत्र २ देखि ८ गतेसम्म कार्यक्रम सञ्चालन गरी करिब ६ हजार सर्वसाधारणलाई वित्तीय ज्ञान प्रदान गरेको छ।

सातै प्रदेशमा वित्तीय शिक्षा

कार्यक्रम अन्तर्गत कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख शहरहरूमा युवा तथा विद्यार्थीवर्गलाई वित्तीय साक्षरताको आवश्यकता, महत्व, नगद कारोबार, लेनदेन र विप्रेषणमा बैंकिङ प्रणालीको प्रयोग लगायतका विषयमा जानकारी दिइएको थियो।

बैंकका नवप्रवर्तन र डिजिटल सेवा

सिटिजन्स बैंकले यसअघि फोनपे क्रेडिट कार्ड, जन–जी सेभिङ्ग अकाउन्ट, डिजी बैंक सेवा, र फ्रिलान्सर सेविङ्ज अकाउन्ट जस्ता नवप्रवर्तन ल्याएको छ। साथै, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुविधा र क्रस बैंक टेलर सुविधा पनि उपलब्ध गराएको छ।

बैंकको पहुँच र सेवाहरू

देशभरि फैलिएका २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ४२ शाखा रहित बैंकिङ इकाइ मार्फत बैंकले २० लाख २ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

सिटिजन्स बैंकले यस कार्यक्रममार्फत युवा र विद्यार्थीवर्गमा वित्तीय ज्ञान बढाउने र बैंकिङ प्रणालीको प्रयोग विस्तार गर्ने विश्वास लिएको छ।