काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।
रामचन्द्र पौडेलले उनलाई बिहान ११:१५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहका बीच शपथ गराउने कार्यक्रम तय भएको छ।
नेपाली कांग्रेसका ७८ वर्षीय नेता केसी गत फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन्।
ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपतिबाट शपथ लिएपछि केसीले आगामी चैत १२ गते बिहीबार प्रतिनिधिसभाका अन्य २७४ सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्। नयाँ सभामुख चयन नभएसम्म संसद्को बैठकको अध्यक्षता गर्ने र सदनको कामकारबाही अगाडि बढाउने जिम्मेवारी पनि उनकै काँधमा रहनेछ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्यहरू चयन भएका छन्। ज्येष्ठ सदस्यको शपथसँगै नयाँ निर्वाचित संसद्को वैधानिक प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
